एफएनसीसीआई र दराज नेपाल बीच सम्झौता, अनलाइन सपिङमार्फत एसएमईजलाई सहयोग गर्ने

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
एफएनसीसीआई र दराज नेपाल बीच सम्झौता, अनलाइन सपिङमार्फत एसएमईजलाई सहयोग गर्ने

काठमाडौं ।

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले साना तथा मझौला उद्योग (एफएमईज) का उत्पादनहरूलाई राष्ट्रिय/अन्तराष्ट्रिय ग्राहकसम्म सहजरूपमा पुर्याउने कार्यलाई अगाडि बढाएको छ। यसका लागि महासंघले नेपालको अग्रणी अनलाइन बजार दराज नेपालसंग सहकार्य गरेको छ।

यस सम्बन्धमा एफएनसीसीआई र दराज नेपाल बीच आज एक समारोहका बीच महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतापत्रमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे।

यो सम्झौताले महासंघसंग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत विक्री वितरण कार्य गर्नेछ। साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सवैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिंदै आएको छ।

एफएनसीसीआई र दराज बीचको सम्झौता अनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमईज) ले एक वर्षको लागि दराजको अनलाईन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासंगै थप सुविधाहरूसमेत पाउने छन् ।

त्यसैगरी सम्झौता अनुसार साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरूलाई महामारीको आर्थिक प्रभावबाट पुनरूत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलहरूको समेत सुरुवात गरेको छ।

एफएनसीसीआई र दराज बीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमईज बिक्रेता तथा ग्राहकहरूलाई एकै ठाउँमा लिएर आउने र संगसंगै नेपालमा डिजिटलाइजेसन र ई(कमर्स)क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको छ ।

हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् ।

सम्झौताअनुसार विशेष रूपमा तयार गरिएका अभियानहरू मार्फत थप प्रचारहरू र दृश्यता प्राप्त गर्ने, जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमईजको लागि कुनै शुल्क नलाग्ने, व्यापक ईकमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफनो नेटवर्कमार्फत सबै एसएमइजहरूका उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने छ।

महासंघका अध्यक्ष गोल्छाले दराजसंगको यो सहकार्य एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगा हुने बताए । दक्षिण तथा दक्षिण पूर्वी एशियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको अनलाइन सपिङ प्लेटफर्ममार्फत साना तथा मझौला उद्यमीहरूले आफना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म पुर्याउन सकुन भन्ने उद्देश्यले महासंघले अग्रसरता लिएको स्पष्ट पारे । अध्यक्ष गोल्छाले यो अवसरको भरपुर लाभ उठाउन पनि साना उद्यमीहरूलाई आग्रह गरे।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघले एसएमईजको पुनरुत्थानका लागि बजारीकरणमा सहयोग गर्ने क्रममा दराजसंग यो सहकार्य गरेको र यसले साना तथा मझौला उद्योगका उत्पादनको राष्ट्रिय एवं अन्तराष्ट्रिय वजारीकरणमा ठूलो सहयोग पुुग्ने र यसबाट संकटमा रहेको यो क्षेत्रले ठूलो लाभ लिन सक्ने बताए।

यस सम्झौताबाट नेपालका अन्य क्षेत्रबाट थप बिक्रेताहरूलाई दराजमा भित्रयाउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग गर्ने विश्वास गरिएको दराजका प्रवन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार