
काठमाडौं ।
भारतको दूरसञ्चार विभागले ९ ओटाभन्दा बढी सिमकार्ड लिनेहरुलाई कडा कारबाही गर्न निर्देशन दिएको छ।
विभागले देशभर नै ९ ओटाभन्दा बढी कनेक्शन तथा जम्मू-कश्मीर, आसामसहित उत्तर-पूर्वी राज्यमा ६ कनेक्शन राख्नेहरुलाई सिम भेरिफाई नभएमा नम्बर डिस्कनेक्ट गरिदिने आदेश दिएको हो। यै आदेश गत डिसेम्बर ७ का दिन जारी भएको हो।
दूरसञ्चार विभाले जारी गरेको उक्त आदेश अनुसार ग्राहकसँग अनुमतिभन्दा बढी सिम कार्ड पाइएमा उनीहरुलाई कुनै एक सिम चालु राख्ने र बाँकी नम्बर डिस्कनेक्ट गर्ने विकल्प दिइनेछ।
विभागले कुनै ग्राहकसँग तोकिएको सङ्ख्याभन्दा बढी सिम कार्ड पाइएको खण्डमा सबै सिमलाई फेरि भेरिफिकेशन गर्न लगाइनेछ।
विभागले सबै टेलिकम अपरेटरलाई जुन जुन यूजरसँग ९ ओटाभन्दा बढी सिम कार्ड छ ती सबैलाई यो नयाँ आदेशका बारेमा नोटिफिकेशन पठाउन आदेश दिएको छ।
साथै सबै सिमको आउटगोइङ कल पनि ३० दिनभित्र बन्द गरिदिन पनि निर्देश गरेको छ। इन्कमिङ कल भने ४५ दिनभित्र बन्द गर्नुपर्ने आदेश छ। तर मोबाइल सिम यूजरलाई आफूसँग भएका सिमकार्डको स्वघोषणाको अवसर पनि दिइने बताइएको छ।
सब्सक्राइबरले सिम भेरिफाई नगरेको खन्डमा यस्ता सिमलाई ६० दिनभित्र बन्द गर्ने आदेश दिइएको छ। यदि सब्सक्राइबर इन्टरनेशनल रोमिङ, बिरामी वा विकलांग व्यक्ति भएमा ३० दिन अतिरिक्त समय दिइनेछ।
विभागले यो निर्णय वित्तीय अपराध, आपत्तिजनक कल तथा धोखाधडीयुक्त गतिविधिका घटनाहरुको जाँच गर्नका लागि लिएको बताएको छ।
विभागले दूरसञ्चार कम्पनीलाई नियमविपरीतका सबै मोबाइल नम्बर डाटाबेसबाट हटाउन पनि निर्देश गरेको छ।
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार