भक्तपुरमा बुधबारदेखि ई–पासपोर्ट वितरण कार्य सुरु

  • Technology Khabar | २३ मंसिर २०७८, बिहीबार
भक्तपुरमा बुधबारदेखि ई–पासपोर्ट वितरण कार्य सुरु

काठमाडौं ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट बुधबारदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरण कार्य सुरु गरिएको छ । पहिलो पटक भक्तपुरमा सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेकी हुन्।

उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन् । उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिइन् ।

सेवाग्राहीले ई–पासपोर्टका लागि https://emrtds.nepalpassport.gov.np मा आवेदन दिनसक्ने छन्। सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन्। यसका लागि रु पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ।

विभागले ६६ पृष्ठको राहदानी रु १० हजार शुल्क तिरेर लिन सकिने व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै सङ्कलन गरिने भएको छ। एकदमै छिटो राहदानी आवश्यक पर्नेका हकमा भने रु. १२ हजार शुल्क तिरेर दुई दिनभित्र पाउने गरी अनलाइन फाराम भर्नसक्ने व्यवस्था गरिएको छ।

भक्तपुरका हकमा दैनिक २० जनाको मात्रै राहदानी बनाउने गरी कोटा निर्धारण भएकाले हाललाई यहाँका स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने प्रजिअ शर्माले जानकारी दिइन् । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्ने जानकारी दिँदै प्रजिअ शर्माले यो राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुनेगरी तयार पारिएको बताइन् ।

जिल्ला बाहिरका बासिन्दाका हकमा सरकारी कर्मचारी र अन्यका हकमा बसाइँसराइको कागज अनिवार्य पेश गर्नुपर्नेछ।

प्रकाशित: २३ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB pledges 70 bln USD to boost energy, digital connectivity in Asia-Pacific

  • Technology Khabar
  • २३ मंसिर २०७८, बिहीबार