मेक इन नेपालको लागि स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
मेक इन नेपालको लागि स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं ।

नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट swadeshi.com.np र मोबाइल एप सार्वजनिक गरेका हुन्।

स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सकिने व्यवस्था मिलाइएको छ। यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिकेसन र वेबसाइटमा समावेश छ।

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध हुनुभएको छ। नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी अभियानको प्रारम्भ गरिएको छ ।

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक विकासको आधारशीला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि बढाएको छ। अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ ।

स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए। उनले स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे। अध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिए।

यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको उल्लेख गरे।

यस्तै परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै नियार्त वृद्धि गर्ने लक्ष्य अभियानले राखेको बताए।

स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले बेवसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह गरे।

नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको छ।

स्वदेशी अभियानका ७ वटा स्तम्भ रहेका छ। जसमा उत्पादनसँग सम्बन्धित ४ वटा र उपभोगसँग सम्बन्धित ३ वटा लक्ष्य रहेका छन्। नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भहरू हुन्।

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन्।

त्यसमा श्रृंखलाबद्ध छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ।

वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४.६ अर्ब डलर बराबरको पुर्याउने लक्ष्य अभियानका रहेका छन् ।

स्वदेशी अभियानमा जोडिने वस्तु तथा सेवा उत्पादकले स्वदेशी लोगो पाउनेछन् । यस लोगोले स्वदेशी वस्तु गुणस्तरीय हुन्छन्, स्वदेशी लोगो प्रयोग भएका वस्तु मूल्यमा प्रतिस्पर्धी हुन्छन्, नेपालमा मूल्य अभिवृद्धि भएको हुने, स्वच्छ व्यापारको प्रवद्र्धन गर्ने, वातावरणमैत्री व्यवसाय र उत्पादनको सुनिश्चितता तथा नैतिक अभ्यास जस्ता विषयको सुनिश्चितता गर्दछ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार