
काठमाडौं ।
फेसबुकको मूल संस्था मेटा प्लेटफर्म इंकले बुधबार चीनमा कोरोना भाइरसबारे भ्रामक प्रभाव सिर्जना गर्ने उद्देश्यले प्रयोग गरिएका भ्रामक दावी गरिएका एकाउन्ट हटाएको बताएको छ।
कम्पनीका अनुसार हटाइएका एकाउन्टमा एक जना स्विजरल्यान्डका जीव वैज्ञानिकले ‘अमेरिकाले कोभिड-१९ को उद्गमबारेको अनुसन्धानमा हस्तक्षेप गरेको’ भन्ने भ्रामक दावीलाई पोस्ट गरिएको जानकारी दिएको छ।
मेटाले आफ्नो रिपोर्टमा उक्त सोसल मिडिया अभियान ‘असफल’ भएको र उक्त अभियानमा अमेरिका र बेलायतका अंग्रेजीभाषी तथा ताइवान, हङकङ र तिब्बतका चिनियाँ भाषी यूजरहरुलाई लक्षित गरिएको उल्लेख गरेको छ।
रोयटर्सका अनुसार स्विजरल्यान्डका वैज्ञानिक विल्सन एडवार्ड्सको दावीलाई चिनियाँ सञ्चारमाध्यमले गत जुलाइमा उद्धृत गरेको थियो। अगस्टमा थुप्रै चिनियाँ पत्रपत्रिकाले एडवार्ड्सलाई उद्धृत गरिएका कमेन्ट हटाएका तथा लेख नै डिलिट गरेका थिए।
त्यति बेला बेइजिङमा रहेको स्विस दूतावासले ती व्यक्ति स्विस नागरिक भएको कुनै प्रमाण नभेटिएको जानकारी दिएपछि ती सञ्चारमाध्यमले लेख तथा कमेन्ट हटाएका हुन्।
फेसबुकले विल्सन एडवार्ड्सको एकाउन्ट गत अगस्टमै हटाएको र त्यसयता ५२४ फेसबुक एकाउन्ट, २० पेज, ४ ग्रुप तथा ८६ इन्स्टाग्राम एकाउन्ट पनि अनुसन्धानका क्रममा हटाएको मेटाले जनाएको छ।
यी पेज र एकाउन्टसँगै तिनीहरुमा पोस्ट गरिएका सबै सामग्री पनि हटाइएको छ।
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार