
काठमाडौं ।
गृह मन्त्रालय र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइकाबीच ‘नेपाली प्रहरीका लागि क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरो’ स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ।
उक्त सहमति पत्र ‘रेकर्ड अफ डिस्कसन’ मा नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे तथा गणतन्त्र कोरियाका तर्फबाट कोइका नेपालका कन्ट्री डाइरेक्टर शुंघुन को ले हस्ताक्षर गरेका थिए।
कोरिया सरकारले कोइकाका माध्यमबाट यो परियोजनाका लागि ६ वर्षसम्म ८० लाख अमेरिकी डलर खर्च गर्ने बुझिएको छ।
उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमता अभिवृद्धि गर्नु रहेको बुझिएको छ।
यस अन्तर्गत साइबर ब्यूरोको अत्याधुनिक भवन बनाउने, साइबर अपराध अनुसन्धान तथा डिजिटल फरेन्सिक ल्याबसँग सम्बन्धित उपकरणका साथै प्रहरीका मानव संशाधनको क्षमता अभिवृद्धि गर्ने प्रमुख काम हुनेछ।
हस्ताक्षरका क्रममा सचिव पान्डेले बढ्दो आपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्नका लागि पूर्ण उपकरणयुक्त तथा क्षमतायुक्त साइबर ब्यूरो निकै महत्वपूर्ण हुने बताए। उनले उक्त परियोजना सफल पार्न आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता जनाए।
यस्तै कोइकाका कन्ट्री डाइरेक्टर को ले उक्त परियोजना गणतन्त्र कोरिया र नेपाल सरकारको साझेदारीमा भएको उल्लेख गरे।
परियोजनाले कोरियाली साइबर ब्यूरोको विज्ञता तथा स्रोतसाधनमा आधारित भएर नेपालमा साइबर अपराध घटाउन तथा पीडितहरुलाई सुरक्षित बनाउनमा सहयोगी हुनेमा जोड दिए।
प्रकाशित: १५ मंसिर २०७८, बुधबार