
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले बुधबार टेक्ससको टेलर क्षेत्रलाई नै आफ्नो १७ अर्बको चिप प्लान्ट निर्माण गर्ने स्थानका रुपमा सुनिश्चित गरेको छ।
उक्त प्लान्टमा मोबाइल, फाइभजी, उच्च कार्यदक्षतायुक्त कम्प्युटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रयोग हुने अत्याधुनिक चिप बनाइने बुझिएको छ।
केही दिन अघिमात्रै वाल स्ट्रीट जर्नलले टेक्ससको टेलरमा सामसङले आफ्नो चिप निर्माण गर्ने समाचार लेखेकोमा सामसङले भने अझै स्थानको निर्णय भइनसकेको बताएको थियो।
कम्पनीका अनुसार आगामी वर्षको पूर्वार्द्धमा उक्त प्लान्ट निर्माणको काम शुरु गर्नका लागि २ हजार जनाले हाइ-टेक रोजगारी पाउनेछन् भने यसबाट सन् २०२४ देखि उत्पादन शुरु हुनेछ।
टेक्ससका गभर्नर ग्रेग एबटले उक्त प्लान्टले थप ६५०० नयाँ रोजगारी सिर्जना गर्ने बताएका छन्।
कम्पनीले टेक्ससलाई नै प्लान्ट निर्माणमा लागि रोज्नुमा पूर्वाधारको स्थायित्व, सरकारी सहयोग तथा आफ्नो विद्यमान प्लान्टबाट नजिक पर्नु रहेको बताएको छ।
प्रकाशित: ८ मंसिर २०७८, बुधबार