
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को शुरुको तीन महिनामा विद्युतीय भुक्तानी कारोबार सङ्ख्या बढेको पाइएको छ।
नेपाल राष्ट्रबैंकद्वारा हालै जारी चालु स्थूल आर्थिक तथ्याङ्क अनुसार विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको हो।
तथ्याङ्क अनुसार मोबाइल वालेटबाट हुने भुक्तानी कारोबार श्रावण महिनामा १ करोड ३१ लाख ५५ हजार ५०१ रहेकामा भाद्रमा १ करोड ३२ लाख ३ हजार ४९६ तथा असोज महिनामा १ करोड ३५ लाख ६५ हजार ५४ पुगेको छ।
यसैगरी क्यूआर कोडमार्फत श्रावणमा १२ लाख ९३ हजार ३४९ कारोबार भएकामा भाद्रमा यो सङ्ख्या १५ लाख ७७ हजार ५६१ तथा असोजमा १५ लाख १५ हजार ३२९ पुगेको देखिन्छ।
यस्तै कनेक्टआईपीएसमार्फत् श्रावण महिनामा २९ लाख ५६ हजार ९६७ कारोबार भएकोमा भाद्रमा ३२ लाख २४ हजार १७५ तथा असोजमा ३५ लाख १० हजार २२६ पुगेको छ।
प्रकाशित: १ मंसिर २०७८, बुधबार