
काठमाडौं ।
केही समयपछि गुगल क्रोममार्फत् डेस्कटपबाटै स्क्रीनशट लिन र एडिट गर्न सकिनेछ।
हाल गुगलले यसै फिचरलाई सबैसामु उपलब्ध गराउन तयारी गरिरहेको बुझिएको छ।
केही महिना यतादेखि एन्ड्रोइडमा रहेको गुगल क्रोमले आफ्नै कस्टम टूलको प्रयोग गरेर स्क्रीनशट लिन र एडिट गर्न सक्ने भएको छ। यसो गर्दा क्रोमले एन्ड्रोइडको स्क्रीनशट टूललाई चलाउनु पर्दैन।
एन्ड्रोइडमा रहेको कस्टम एडिटरले क्रपिङ, ड्रइङ तथा टेक्स्ट ओभरलेजस्ता फिचर सपोर्ट गर्छ।
टेकडोज तथा अन्य वेबसाइटका अनुसार डेस्कटफ प्लेटफर्मका लागि दिइएको क्रोम क्यानरीमा पनि यस्तै खाले सुविधा थपिने बुझिएको छ।
क्रोम ९८ मा हालै थपिएको नयाँ फ्ल्यागले गुगल ब्राउजरमार्फत् लिइएको स्क्रीनशटलाई एडिट गर्ने संयन्त्रमा काम गरिरहेको आकलन गर्न सकिन्छ।
यो फिचर सार्वजनिक भएपछि यसले एन्ड्रोइडमा जस्तै गरी काम गर्ने र स्क्रीनशट एडिट गरेपछि एन्ड्रोइडमा झैं पीएनजी फाइल डाउनलोड हुने अपेक्षा गरिएको छ। गुगलले यो फिचर क्रोम ओएसका साथै विन्डोज, म्याक तथा लिनक्समा पनि चल्ने बताएको छ।
प्रकाशित: २८ कार्तिक २०७८, आईतवार