उल्कापिण्डको बाटो परिवर्तन गराउन नासाको अन्तरिक्ष यानले ठक्कर दिने !

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
उल्कापिण्डको बाटो परिवर्तन गराउन नासाको अन्तरिक्ष यानले ठक्कर दिने !

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले आफ्नो ग्रहको रक्षाका लागि पहिलो परीक्षण गर्ने भएको छ।

यो योजनामा उल्कापिन्डको बाटो परिवर्तन गराउनका लागि एउटा अन्तरिक्ष यानलाई उक्त उल्कापिण्डमा लगेर ठक्कर दिइनेछ।

अमेरिकी एजेन्सीले उक्त अन्तरिक्ष यानमा इन्धन भरेर केही अन्तिम परीक्षणहरु पनि गरिसकेको छ भने अब वास्तविक मिसनका लागि रिहर्सलमा जुटेको बुझिएको छ।

डीएआरटी अर्थात् डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट नाम दिइएको यो मिशन आगामी नोभेम्बर २३ मा गरिने भएको छ।

यो यानले डाइडीमोस नामक ठूलो उल्कापिण्डलाई घुम्ने डाइमोर्फोस नामक उल्कापिण्डलाई ठक्कर दिनेछ। यी दुवैमध्ये कुनै पनि उल्कापिण्ड पृथ्वीका लागि जोखिमपूर्ण भने नरहेको बताइएको छ।

नासाले पृथ्वीमा रहेको टेलिस्कोपबाट उक्त मिसनको अवलोकन गरेर आवश्यक तथ्याङ्क संकलन गर्नेछ। संकलित तथ्याङ्कले साँच्चै जोखिमयुक्त उल्कापिण्डको बाटो परिवर्तन गराउनुपर्दाका लागि आवश्यक मोडेलिङ र भविष्यवाणी गर्नसक्ने क्षमता बढाउने नासाको बुझाइ छ।

नासाले लक्षित गरेको डाइमोर्फोसको अर्थ ग्रीक भाषामा ‘दुई प्रकारको’ भन्ने हुन्छ जसको व्यास १६० मिटर रहेको छ।

उक्त ठक्करबाट उल्कापिण्डलाई पूर्णरुपमा नष्ट नगरी यसको बाटो परिवर्तन गर्नका लागि दबाब मात्र दिने संलग्न वैज्ञानिकहरुले बताएका छन्। तर यसबाट कतिसम्म बाटो परिवर्तन हुनेछ भन्ने स्पष्ट छैन।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...