
काठमाडौं ।
काठमाडौं, १२ जेठ । लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको आगामी निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी जेठ २४ गते देखि काठमाडौंमा आयोजना हुन लागेको महासंघको २३ औं महाधिवेशन तथा २० औं महिला उद्यमी सम्मेलनसँगसँगै हुने नयाँ नेतृत्व छनौटका लागि गिरीले आज आफ्नो उम्मेदवारी घोषणा गरे । आज आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले ८ बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन् ।
लघु, घरेलु तथा साना उद्योगीको हकमा काम गर्ने अभिप्रायले निर्देशित रहेर उम्मेदवारी दिएको भन्दै उनले लघु, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका लागु गर्नका लागि पहल गर्ने, स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापना गर्न पहल गर्ने, अन्तराष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न पहल गर्ने लगायतका ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रकाशित: १२ जेष्ठ २०७३, बुधबार