
काठमाडौं ।
मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका विभिन्न शैक्षिक तथा प्रशासनिक कृयाकलापहरुलाई अब डिजिटल माध्यममा आधारित गर्ने भएको छ।
विश्वविद्यालयका गतिबिधिहरु डिजिटल माध्यमबाट संचालन गर्न तथा विश्वविद्यालयलाई ई–यूनिभर्सिटीमा रुपान्तरण गर्ने उदेश्यका साथ ईन्टरप्राईज रिसोर्स प्लानिङ सिस्टम (ईआरपिएस), एजुकेशन म्यानेजमेन्ट इन्फोरमेशन सिस्टम (ईएमआईएस), लर्निङ म्यानेजमेन्ट सिस्टम लगायतका ३५ वेबसाईट तथा मोबाईल एप्लिकेसनहरु निर्माण गर्न मध्यपश्चिम विश्वविद्यालय तथा मीटिङ्ग पोइण्ट प्राइभेट लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहको उपस्थितिमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल तथा मीटिंग पोइण्ट प्राइभेट लिमिटेडका तर्फबाट डा संबिधान आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
विश्वविद्यालयले यसअघि जारी गरेको बोलपत्र आह्वानमा परेका १४ फर्महरुको आवेदनहरु मध्ये विभिन्न चरणको छनोट प्रकृया पश्चात मीटिंग पोइण्ट छनोट भएको हो।
यस परियोजनाको कुल बजेट रु. ६५ लाख ३० हजार रहेको छ । यस सम्झौता पश्चात उक्त कार्य सम्झौता भएको दिन देखि ६ महिना भित्र सम्पूर्ण सिस्टमहरुको निर्माण कार्य सम्पन्न गरी हस्तानान्तरण तथा उपयुक्त तालिम प्रदान गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार