Technology Khabar १५ बैशाख २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १५ वैशाख । महिला हिंसाको बढ्दो समस्याबाट आक्रान्त भारतीय सरकारले प्रविधिको माध्यमबाट महिला हिंसा र दुव्र्यवहार कम गर्ने नीति ल्याएको छ ।
भारतमा बिक्री हुने सबै फोनहरुमा महिला हिंसा नियन्त्रणका लागि फिजिकल प्यानिक बटन राखिएको हुनुपर्ने नीति भारत सरकारले ल्याएको छ । यो नीतिअनुसार आगामी सन् २०१७ जनवरी महिनादेखि भारतीय बजारमा बिक्री हुने सबै मोबाइल फोनहरुमा फिजिकल प्यानिक बटन राखिएको हुनुपर्नेछ ।
हरेक नयाँ फोनमा प्यानिक बटन हुनुपर्ने नीति पारित भएको भारतीय टेलिकम मन्त्री रवि शंकर प्रसादले मंगलवार ट्विटर मार्फत जानकारी दिएका हुन् । उनका अनुसार प्रविधिको शक्तिबाट यसले महिलाहरुलाई दुव्र्यवहारबाट बचाउन सकिन्छ ।
यस्तो विशेष प्यानिक बटनले प्रहरी तथा फोन प्रयोगकर्ताले छनौट गरेका नजिकका आफन्तहरुलाई अलर्ट तत्काल पठाउने छ । तत्काल जाने यस्तो सूचनाको सहयोगबाट दुव्र्यवहारको घटना अथवा सूरक्षासँग सम्बन्धित मुद्धाहरुमा तत्काल प्रतिकृया जनाउन सकिने भारतीय टेलिकम मन्त्रीको भनाई छ ।
त्यसैगरी सन् २०१८ देखि लागु हुनेगरी भारतीय सरकारले हरेक नयाँ फोनमा इन बिल्ट जीपीएस सिस्टम हुनुपर्ने नीति पनि ल्याएको छ । यो प्रणालीले हिंसा र दुव्र्यवहारको घटनामा निश्चित स्थान पत्ता लगाउन सकिने छ ।
फिचर फोनहरुमा प्यानिक बटन फोनमा भएको ५ वा ९ कि बटन थिच्दा एक्टिभ हुनेछ भने स्मार्टफोनहरुमा पावर वटनलाई लगातार ३ पटक थिचेमा अलर्ट नोटिस जानेछ । यो विशेष फिचर फोन बिक्रीका लागि राखिनुभन्दा पहिले सर्भिस सेन्टरबाट अपग्रेड गर्न सकिने हुन्छ ।
भारतमा महिला हिंसाको बढ्दो घटनालाई रोक्नका लागि कयौं सुरक्षा एप्स निर्माण गरिएको छ । त्यसैगरी भाडामा ट्याक्सी उपलब्ध गराउने उबर तथा ओला जस्ता कम्पनीले पनि सेफ्टी बटन गत वर्षदेखि थप गरेका छन् ।
भारतीय सरकारको प्रेस इन्र्फमेशन व्यूरोले जारी गरेको विज्ञप्तिअनुसार नियामकहरुले एप भन्दा फिजिकल प्यानिक बटन उपयुक्त हुने निर्णय गरेका छन् ।
भारतमा महिला हिंसाको बढ्दो घटनालाई रोक्न भारतीय सरकारले विभिन्न उपायहरु अबलम्बन गरिरहेपनि अझै नियन्त्रणमा आउन नसकेको बताईएको छ । करिब ७० प्रतिशत घटनाहरु पिडितको घरमा वा परिचित मानिसबाट हुने गरेको बताईएको छ ।
प्रकाशित: १५ बैशाख २०७३, बुधबार