मेगा बैंकमा पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभियो

Technology Khabar १५ बैशाख २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १५ बैशाख । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपालमा गाभिएको छ ।

सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगामा गाभेर आजबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । उनका अनुसार, मेगा बैंकको शेयरको मूल्य प्रतिकित्ता १ सय ४ रुपैंया २५ पैसा र पश्चिमाञ्चलको प्रतिकित्ता ६७ रुपैंयामा आदानप्रदान (स्वाप) गर्ने निर्धारण भएको छ । मेगा बैंकको यो पहिलो मर्जर हो । मेगा बैंकलाई प्रादेशिक संरचनामा लैजान लागिएको जानकारी दिँदै उनले सबै प्रदेशमा ‘प्रादेशिक केन्द्र’को स्थापना गरिने बताए । बैंकको पहुँचभित्र पर्न नसकेका उद्योगी, व्यवसायी, कृषि, पर्यटन सबै क्षेत्रमा पहुँच पुराउने उद्देश्यले वुटवलमा पहिलो प्रादेशिक केन्द्र स्थापना गरिएको उनले स्पष्ट पारे ।

बैंकका सिइओ अनिलकेशरी शाहले कतिपय शाखालाई बजारको अध्ययन गरि पुनःस्थानान्तरण गरिने जानकारी दिए । पश्चिमाञ्चलका १४ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ४४ वटा पुगेका छन् । यसअघि मेगा बैंकको शाखा कार्यालय नभएका पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङजा लगायतका जिल्लामा पनि मेगा बैंक विस्तार भएको छ ।

मर्जरपछि मेगा बैंकको चुक्ता पुँजीे ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप, कर्जा २५ अर्ब ५ करोड रहेको छ । अब मेगा बैंकको देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १३ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल र एउटा एक्सटेन्सन काउन्टर भएको छ ।

प्रकाशित: १५ बैशाख २०७३, बुधबार

तपाइको प्रतिक्रिया