भर्चुअल माध्यमबाट पढाउन शिक्षकलाई ल्यापटप

  • Technology Khabar | ७ भाद्र २०७८, सोमबार
भर्चुअल माध्यमबाट पढाउन शिक्षकलाई ल्यापटप

काठमाडौं ।

बन्दाबन्दीले सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्दै आएको सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नं. ३ स्थित महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई भर्चुअल माध्यमबाट पढाउन शिक्षकलाई ल्यापटप वितरण गरेको छ।

कोरोना सङ्क्रमण फैलन नदिन गरिएका बन्दाबन्दी र निषेधाज्ञाका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्दै सुरु गरेको भर्चुअल कक्षामा प्राविधिक उपकरणको अभाव नहोस भन्ने उद्धेश्यसहित पठन पाठन प्रक्रियाअघि बढाउन शिक्षकलाई ल्यापटप वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मेदिनि घिमिरेले शिक्षकलाई ल्यापटप दिएपछि भर्चुअल कक्षा प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विनियोजन भएको आठ लाख ८२ हजार रुपैयाँमा चौधवटा, इभेन्ट परियोजनाबाट दशवटा र विद्यालयको आन्तरिक स्रोतबाट पाँचवटा ल्यापटप खरिद गरी विद्यालयमा कार्यरत तीस जना शिक्षकलाई एक–एक थान ल्यापटप निःशुल्क वितरण गरिएको हो ।

विद्यालयमा इन्टरनेट जडान गरी सकिएको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा अझ भर्चुअल कक्षा सञ्चालनमा सहयोग पुग्ने प्रधानाध्यापक घिमिरेले बताए ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका– ३ मा रहेको सो विद्यालयमा नौ सय ५३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ग्रामिण क्षेत्रका प्रविधिमैत्री नमुना विद्यालय बनाउँदै भौतिक उपस्थिति बिनानै विद्यालयले पठनपाठन कार्यलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेर निरन्तरता दिइरहेको घिमिरेको भनाइ छ ।

अहिले प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म भर्चुअल माध्यमबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीले भौतिक कक्षाभन्दा बढी सहज र लाभदायक हुने अनुभूति गरेको शिक्षक दिपेन काफ्लेले बताए ।

विद्यालयमा हाल नेपाली र अँगे्रजी माध्यमबाट पढाइ हुँदै आएको छ । ल्यापटप पाउने शिक्षकलाई यसअघिनै ल्यापटप चलाउने तरिका र अनलाइन पठनपाठन विधिबारे प्रशिक्षणसमेत दिइएको जनाइएको छ । गोरखापत्र

प्रकाशित: ७ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...