
काठमाडौं ।
विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छिन् ।
सोसाइटीले ‘वर्ल्ड स्पेस विक’को अवसरमा सन् २०१९ मा सो प्रतियोगिता आयोजना गरेको थियो तर कोभिड १९ का कारण हाल पुरस्कार बितरण गरेको जानकारी दिएको हो ।
प्रतियोगितामा द्वितीय भएका द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी सरिता रम्तेलले प्रमाणपत्र एवं उपहार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईलेलाई जानकारी दिए।
त्यसैगरी सन् २०२० मा ‘स्याटेलाइट्स ईम्प्रुभ लाईफ’ विषयमा सञ्चालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी रिना चौधरीले टेलिस्कोप, पदक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बूढानीलकण्ठ स्कुल, बूढानीलकण्ठकी नीति पछाईले प्रमाणपत्र एवं पदक प्राप्त गरेकी छिन् ।
सन् २०२० मा सञ्चालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकलाका विजयी ट्रिनिटी कलेज डिल्लीबजारका रोहन भट्टराईले नगद रु पाँच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरेको संस्थाले विज्ञप्तीमार्फत जनाएको छ ।
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्नुहुने मेक इञ्जिनियरिङका अर्केत महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुग्ने बताए ।
सोसाइटीले सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै माग गर्न लागेको जनाएको छ । यस वर्ष ‘विमेन इन स्पेस’ विषयमा कार्यक्रम गरिने जानकारी दिइएको छ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेसँगै सन् २००० देखि विश्वव्यापी रुपमा अक्टोबर ४ देखि १० वा सेरोफेरोमा मनाउन थालिएको विश्व अन्तरिक्ष सप्ताह सोसाइटीले स्थापनाकाल सन् २००७ देखि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रियस्तरमा मनाउँदै आएको छ।
सो पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन असमर्थ विजेताले कार्यालयमा सम्पर्क गरी पुरस्कार लिन सक्ने सोसाइटीले जनाएको छ।
प्रकाशित: ३० श्रावण २०७८, शनिबार