
काठमाडौं ।
अबदेखि कोरोना भाइरसको खोप लगाएको क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड प्रमाणपत्र जिल्ला अस्पतालमै पाइने भएको छ।
विदेश जाने मजदुर तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो।
बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्लालाई पत्र पठाएर त्यहिँबाट खोप लगाएको प्रमाणिकरण गर्न निर्देशन गरेकाे छ।
सो निर्देशनमा जिल्लाका सरकारी अस्पतालहरुले निशुल्करुपमा क्यूआर कोड सहितको खोप कार्ड उपलब्ध गराउन भनिएको छ । त्यसैगरी सूचना प्रणालीमार्फत समेत क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण गरिने जानकारी दिईएको छ ।
सरकारले शुरुमा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट यो सेवा शुरु गरेको थियो ।
यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिएका थिए ।

प्रकाशित: २१ श्रावण २०७८, बिहीबार