चीनले अनलाइन गेमलाई ‘इलेक्ट्रोनिक ड्रग’ नाम दिएपछि शेयरको मूल्यमा गिरावट

  • Technology Khabar | १९ श्रावण २०७८, मंगलवार
चीनले अनलाइन गेमलाई ‘इलेक्ट्रोनिक ड्रग’ नाम दिएपछि शेयरको मूल्यमा गिरावट

काठमाडौं ।

चीनको राज्य सरकारको एक मिडियाले अनलाइन गेमलाई इलेक्ट्रोनिक ड्रग भनेपछि त्यहाँका दुई ठूला अनलाइन गेमिङ कम्पनीको शेयरमा गिरावट आएको छ।

यो घटनापछि हङकङ ट्रेडमा टेन्सेन्ट र नेटइजका शेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको थियो। लगानीकर्ताहरु यी संस्थाहरुप्रति बेइजिङको यो रवैयाप्रति चिन्तित हुन थालेका छन्।

हालैका महिनाहरुमा चीनका अधिकारीहरुले प्रविधि तथा निजी शैक्षिक संस्थाहरुमाथि कडाइ गर्न विभिन्न प्रकारका उपायहरु अवलम्बन गरिरहेका छन्।

राज्यद्वारा सञ्चालित इकोनोमिक इन्फर्मेशन डेलीका प्रकाशित एउटा लेखमा थुप्रै किशोर किशोरी अनलाइन गेमको कुलतमा फसिसकेका र यी गेमले उनीहरुमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ। उक्त समाचार संस्था शिन्ह्वा समाचार एजेन्सीसँग सम्बद्ध रहेको छ।

उक्त लेखमा टेन्सेन्टको बहुचर्चित गेम अनर अफ किङ्सको बारेमा उल्लेख गर्दै विद्यार्थीहरुले यो गेम दैनिक ८ घण्टासम्म खेल्ने गरेकाले कम्पनीप्रति कडाइ गरिनुपर्ने माग गरिएको थियो।

‘कुनै पनि उद्योग वा खेललाई कुनै पींढी नै बिगार्ने हिसाबले बनाउन दिइनु हुँदैन,’ उक्त लेखमा अनलाइन गेमलाई आध्यात्मिक अफीमसँग तुलना गर्दै लेखिएको छ।

टेन्सेन्टले अनर अफ किङ्समा बालबालिकाको पहुँच तथा त्यसमा खर्च गर्ने समय घटाउन पहल गर्ने बताएको छ। कम्पनीले यो नियम बिस्तारै आफ्ना सबै गेमहरुमा लागू गर्ने पनि उल्लेख गरेको छ।

उक्त सञ्चारमाध्यमले विच्याटबाट लेख हटाएपछि यी कम्पनीहरुको शेयर मूल्यमा पुन: बढोत्तरी भएको थियो।

प्रकाशित: १९ श्रावण २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार