Technology Khabar १४ पुष २०७२, मंगलवार
काठमाडौं ।
काठमाण्डौं, १४ पुस । पछिल्लो दिनमा सरकारले मन्त्रालय टुक्रयाउँदा कर्मचारीहरुमा पनि अन्यौल बढेको छ । सरकारले आफू सत्तामा रहनको लागि मन्त्रालयहरु टुक्र्याउने गरेको हुँदा सूचना तथा संचार प्रविधि मन्त्रालयका कर्मचारीहरु पनि अलमलिएका छन् । यहि मेसोमा तत्कालिन सूचना तथा संचार प्रविधि मन्त्रालयका सह सचिव तथा निमित्त सचिवको जिम्मेबारी पाएका कविराज खनालले मन्त्रालय टुक्र्याएपछि आफ्नो मन्त्रालयको नाम के हुने भने अलमलमा रहेको बताएका छन् ।
सूचना तथा संचार प्रविधिको बारेमा लेख्ने पत्रकारहरुको संस्था टेक जर्नो फोरमले काठमाडौंमा आयोजना गरेको दुई दिने तालिमको समापन गर्दै निमित्त सचिव खनालले आफ्नै मन्त्रालयको नाम थाहा नभएको गुनासो गरे । उनले मन्त्रालयहरु टुक्र्याएको केहि दिन बितिसक्दा पनि आफ्नो मन्त्रालयको आधिकारीक नामाकरण के भएको छ भन्ने जानकारी नभएको बताएका हुन् । उनले भने, ‘केहि समय अघि सूचना तथा संचार प्रविधि मन्त्रालय थियो राजनीतिक कारणले मन्त्रालय टुक्र्याएपनि आधिकारिकरुपमा केहि जानकारी छैन् ।’
उनले नेपालमा सरकारले ल्याएका नीतिगत विषयहरुले सूचना तथा संचार प्रविधिको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । त्यसैगरी निमित्त सचिव खनालले आगामी दिनमा फेरी संचार प्रविधि मन्त्रालय र सूचना मन्त्रालय एकै ठाउँमा आउने विश्वास व्यक्त गरे ।
तर सूचना तथा संचार प्रविधि मन्त्रालयको आधिकारीक वेबसाइटमा भने उक्त नाममा कुनै परिवर्तन गरिएको छैन् । यो समाचार तयार पार्दासम्म उक्त मन्त्रालयको वेबसाइटमा मन्त्रीमा शेरधन राईको नाम रहेको छ भने उक्त मन्त्रालयबाट सरुवा भएको भनिएका सचिव सुनिल बहादुर मल्लको नाम नै मन्त्रालयको वर्तमान सचिवको रुपमा वेबसाइटमा राखिएको छ ।
कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एनसेलले वैदेशिक लगानी भित्र्याएको आधारमा लगानीबाट आएको लाभांश पाउनुपर्ने बताए । उनले अहिले वैदेशिक लगानीको लाभांश नदिने हो भने त्यसले विश्व बजारमा नेपालमा लगानी गर्ने बारेमा नकारात्मक संदेश पुग्नसक्ने भन्दै सचेत गराएका थिए । त्यसैगरी अध्यक्ष झाले नेपालमा टेलिकम सेवाको क्षेत्रमा अझै कम्तिमा एउटा सेवा प्रदायकको खाँचो रहेको भन्दै नयाँ सेवा प्रदायक कम्पनी थप गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने बताए । 
१९ जना पत्रकार सहभागी तालिम कार्यक्रममा सूचना तथा संचार प्रविधि, दूर संचार प्रविधि, अनलाइन प्रविधिलगायतका विषयमा विभिन्न विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए ।
प्रकाशित: १४ पुष २०७२, मंगलवार