
काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा बैठक चलिरहेका बेला बैठक कक्षभित्र ओहोर दोहोर गर्ने र मोबाइल फोन प्रयोग नगर्न सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।
सभा सदस्यहरुले बैठक चलिरहेका बेला उठेर ओहोरदोहोर गरेपछि र बैठक कक्षभित्रै मोबाइल फोन चलाएपछि अध्यक्ष तिमिल्सिनाले ध्यानाकर्षण गराएका हुन् ।
बैठकको विशेष समय तथा शुन्य समयमा सभाका सदस्यहरुले धारणा राखेका थिए। बैठकमा सदस्यहरुले सरकारको कामको प्रशंसा तथा आलोचना गरेका थिए । विशेष समयमा दलीय हिसावले धारणा राखेका सांसदहरुले शुन्य समयमा दैनन्दिन जनताका समस्या समाधानमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।
बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिेवेदन २०७६/७७ सभासमक्ष पेश गरेका थिए। त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुमेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए ।
अर्को बैठक असार २७ गते दिउँसो १ बजे बस्ने अध्यक्ष तिमिल्सिनाले बैठकलाई जानकारी गराए। गोरखापत्रबाट
प्रकाशित: २३ असार २०७८, बुधबार