हिमालय एअरलाइन्सको फ्लाईट टिकट अब ग्राहकले अनलाइनबाटै बुक गर्न सक्ने

  • Technology Khabar | २३ असार २०७८, बुधबार
हिमालय एअरलाइन्सको फ्लाईट टिकट अब ग्राहकले अनलाइनबाटै बुक गर्न सक्ने

काठमाडौं ।

नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ ।

ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्सको वेबसाइट https://him-air.com बाट बुकिङ्ग गर्न सक्नेछन् । यसले उनीहरुलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने कम्पनीले जानकारी दिएको छ।

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण – पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व बुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाएको उल्लेख गरेको छ ।

नयाँ वेबसाइट सुरूवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले भने, “हाम्रा ग्राहकहरू हामीले गर्ने सबै कामका केन्द्र हुन्, र हामी उहाँहरूलाई बढी भन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम हो । वास्तवमा हामी यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको अवधि प्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै हामी हाम्रा यात्रुहरूको भौतिक सम्पर्करहित बुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौं ।”

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धी हो । हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुङ्गा साबित हुनेछ ”

यो नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकहरुका लागी सहज र निर्बाध टिकट बुकिङ्ग अनुभव सुनिश्चित गर्नका लागी तयारी गरिरहेको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार