नाष्ट सेवा आयोगको अध्यक्षमा डा. खगराज बराल नियुक्त

  • Technology Khabar | २३ असार २०७८, बुधबार
नाष्ट सेवा आयोगको अध्यक्षमा डा. खगराज बराल नियुक्त

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सेवा आयोगको अध्यक्षमा डा. खगराज बराललाई नियुक्त गरेका छन् ।

नाष्टका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षदेखि रिक्त रहेको आयोगको अध्यक्षमा सचिव बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

बराललाई ओलीले नाष्टको अध्यक्षमा नियुक्त गरेपछि उनले नेपाल सरकारको सचिवबाट राजीनामा दिएका छन्।

बराल प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा सचिवकाे रूपमा कार्यरत थिए । उनी साउन २६ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका थिए ।

ऐनले नाष्ट सेवा आयोगलाई प्रज्ञा प्रतिष्ठानमा आवश्यक पर्ने कर्मचारीको स्थायी नियुक्ति र बढुवाको सिफारीस गर्ने अधिकार दिइएको छ ।

सो आयोगमा कुलपतिबाट मनोनीत व्यक्ति अध्यक्ष हुनेछ भने लोकसेवा आयोगको अध्यक्षले तोकेको एकजना सदस्य, प्राज्ञहरू मध्ये कुलपतिबाट मनोनीत एकजना प्राज्ञ सदस्य प्रज्ञा प्रतिष्ठानको सचिव नै सदस्य–सचिवको रुपमा हुनेछन् ।

सेवा आयोगका अध्यक्ष र मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरूलाई अर्को एक पटक पुनः नियुक्त गर्न सकिनेछ ।

सेवा आयोगको अध्यक्षले सेवा आयोगको वार्षिक प्रतिवेदन कुलपति समक्ष पेश गर्नेछ र कुलपतिले सो प्रतिवेदन विचारार्थ सभामा प्रस्तुत गर्नेछ । सभाले सो प्रतिवेदन माथि विचार गरी सेवा आयोगलाई आवश्यक निर्देशन दिन सक्ने ऐनमा प्राबधान रहेको छ ।

प्रकाशित: २३ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...