
काठमाडौं ।
लण्डनका मेयर सदिक खानले सन् २०२४ भित्रमा लण्डनका सबै स्टेशन तथा टनेलहरुमा रहेका नेटवर्कहरुमा मोबाइल कनेक्शन उपलब्ध गराउने घोषणा गरेका छन्।
अक्सफोर्ड सर्कस, टोटनहम कोर्ट रोड, बैंक, युस्टन तथा क्याम्डेन टाउनलगायतका लण्डनका चर्चित स्टेशनहरुमा सन् २०२२ सम्ममा तार तानिसक्ने र आउँदा महिनाहरुमा चरणबद्ध रुपमा मोबाइल कनेक्शन छोडिने बुझिएको छ।
यो घोषणा जुबिली लाइनको पूर्वी आधा भागको वेस्टमिन्स्टर र क्यानिङ टाउनका बीचमा मार्च २०२० मा फोरजी कभरेज विस्तार गरिएको १ वर्षपछि आएको हो।
ट्रान्सपोर्ट फर लण्डनले त्यहाँ विस्तार गरिने पूर्वाधारले फोरजी र फाइभजी नेटवर्क पनि सपोर्ट गर्ने बताएका छन्। ‘समग्र ट्युबमा पूर्ण इन्टरनेट सेवा उपलब्ध गराइनेछ’, उनले भने।
‘मैले लण्डनवासीलाई आफू पुन: मेयरमा चुनिएको खण्डमा समग्र टनेलमा फोरजी सेवा उपलब्ध गराउने वाचा गरेको थिएँ’, मेयर खानले एक विज्ञप्तिमा भने, ‘यो सेवा जुबिली लाइनको पूर्वी आधा भागमा शुरु पनि भइसकेको छ। आज म सेन्ट्रल लण्डन स्टेशनका अक्सफोर्ड सर्कस र युस्टनजस्ता स्थानमा अर्को वर्षभित्र फोरजी कनेक्शन पुर्याउने वाचा पूरा हुने घोषणा गर्दा निकै हर्षित छु।’
प्रकाशित: ८ असार २०७८, मंगलवार