
काठमाडौं ।
दक्षिण कोरियाको एलजी इनर्जी सोलुशनले गत वर्ष २१७०० सिलिण्डरको ८० करोडभन्दा बढी थान ब्याट्री सेल आपूर्ति गरेको दइलेक डटकमले उल्लेख गरेको छ।
कम्पनीले यो वर्ष उक्त सङ्ख्या बढाएर १ अर्ब पुर्याउने लक्ष्य लिएको छ। दक्षिण कोरियाली ब्याट्री उत्पादकले टेस्लाको मोडल ३ तथा मोडल वाइका लागि ब्याट्री सेल आपूर्ति गर्दै आएको छ। यसैगरी पानासोनिकले भने टेस्लाका मोडल एस, एक्स, ३ र वाइका लागि ब्याट्री उपलब्ध गराउँछ।
थोरै मोडलहरुका लागि उपलब्ध गराउने भए पनि एलजी इनर्जी सोलुशनका ब्याट्रीहरु टेस्लाले गत वर्ष गाडीहरुमा प्रयोग गरेको समग्र ब्याट्री सङ्ख्याको ३० प्रतिशत हिस्सा ओगटेको विश्वास गरिएको छ।
यो सङ्ख्या गत वर्ष सर्वाधिक बिक्री भएको मोडल ३ को बिक्रीको बढोत्तरीका कारण सम्भव भएको हो। एलजीले गत वर्षको पहिलो त्रैमासमा टेस्लालाई ५ करोड थान ब्याट्री उपलब्ध गराएकामा दोस्रो त्रैमासमा यो बढेर १० करोड थान पुगेको थियो।
यही तरिकाले तेस्रो त्रैमासमा यो सङ्ख्या २० करोड पुगेको आँकडा छ। बजार अनुसन्धान संस्था ईभी भोल्युम्सका अनुसार टेस्लाले गत वर्ष ४ लाख ९९ हजार ५५० ओटा कार बेचेको थियो। यीमध्ये ३ लाख ओटा मोडल ३ गाडीहरु रहेका थिए।
यो वर्षको पहिलो त्रैमासमा १ लाख २६ हजार ७१६ ओटा बिक्री हुँदै मोडल ३ कार नै सबैभन्दा बढी बिक्री हुनेमा अग्रपंक्तिमा रहेको उक्त संस्थाको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार