
काठमाडौं ।
नेपाल टेलिकमले हाल आफ्नो फोरजीको नविनतम सेवा भीओएलटीई शुरु गरेको छ । कम्पनीका ग्राहकहरुमध्ये १५ हजार भन्दा धेरैले भीओएलटीई सेवा प्रयोग गर्न शुरु गरिसकेको टेलिकमले जानकारी दिएको छ ।
त्यसैगरि कम्पनीले ९० हजार भन्दा धेरैले यसको लागि सेवा एक्टिभेट गर्न *444# डायल गरेको जनाएको छ ।
नेपाल टेलिकमले फोरजी भीओएलटीई सेवा शुरु गरिरहेको बेलामा देशभरमा ७६ प्रतिशत भन्दा धेरैले फोरजी प्रविधिमा पहुँच पाएको जनाएको छ ।
कम्पनीकाअनुसार हाल देशभर फोरजी सेवा पुगेको छ र देशभर त्यसमध्ये ७६ प्रतिशतले फोरजी चलाउन सक्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
‘अहिले जनसंख्याको आधारमा हेर्दा ७६ प्रतिशत फोरजी नेटवर्कको पहुँचमा रहेका छन् । तर कतिपय क्षेत्रमा ग्राहकहरुको डिभाइस सोहिअनुसार अपग्रेड नहुँदा ग्राहकहरुले गुनासो गरिरहेको देखिन्छ,’ प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरलाई भने ।
उनकाअनुसार कोर नेटवर्कको काम लगभग अन्तिम अवस्थामा पुगिसकेको छ भने एक्सेस नेटवर्क अर्थात र्यानको कार्य ८० प्रतिशत भन्दा धेरै सम्पन्न भएको छ ।
“हामीलाई आवश्यक पर्ने उपकरणहरु सबैजसो आयात गरिसकेका छौं तर निषेधाज्ञाका कारण यातायात र ढुवानी सहज नहुँदा उपकरणहरु साइटमा पुर्याउन सकिएन्, जसले गर्दा काम रोकियो । ढुवानी सहज हुने बित्तिकै हामी तत्काल उपकरणहरु पठाएर जडान शुरु गर्नेछौं,” उनले भने ।
प्रबन्ध निर्देशक अधिकारीले यो अवधिमा नयाँ टावरहरु धेरै बनाएको बताउँदै त्यसमा उपकरणहरु जोड्ने काम भईरहेको जानकारी दिए ।
‘हामी निर्माण भएका टावरहरुमा उपकरणहरु जोड्ने र फेर्ने क्रममा छौं र यसलाई सकेसम्म छिटै सक्ने प्रयास गर्नेछौं,’ उनले स्पष्ट पारे । निषेधाज्ञापछि ढुवानी सहजभएसँगै काम शुरु गर्ने गरि तयार रहेको उनले बताए ।
यसैबिच साइटमा खटिने कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि सिमित कर्मचारीको भरमा बिटिएस स्टेशन तथा उपकरणहरुको मर्मत तथा व्यवस्थापन गरिरहेको टेलिकमले जनाएको छ ।
यो पनि हेर्नुस्-
किन चलेन तपाईँको मोबाइल फोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा ? यस्तो छ कारण
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार