
काठमाडौं ।
नासाको मुख्यालय तथा विश्वभर रहेका यसका कार्यालयका वैज्ञानिकहरुले गत महिना विभिन्न वैज्ञानिकहरुसँग केही समयपछि पृथ्वीसँग ठोक्किने उल्कापिण्ड रोक्न केही उपाय निकाल्न सकिन्छ कि भनेर अभ्यास गरे।
यो अभ्यास काल्पनिक थियो भने ती वैज्ञानिकहरुलाई भविष्यमा यस्तो समय आए कसरी तयार रहने भन्नका लागि आयोजना गरिएको थियो। त्यसका लागि एउटा काल्पनिक परिस्थिति सिर्जना गरिएको थियो जुन यस्तो थियो:
एउटा रहस्यमय उल्कापिण्ड ३ करोड ५० लाख माइल टाढाबाट पृथ्वीतिर आउँदैछ र यसले ६ महिनाभित्रमा यो ग्रहसँग टक्कर खानेछ। यो स्थितिलाई लिएर वैज्ञानिकहहरुले अप्रिल २६ देखि १ हप्ता समय लिए र २०२१ पीडीसी नाम दिइएको उक्त काल्पनिक उल्कापिण्डको दिशा बदल्नका लागि विभिन्न उपायहरुको खोजी गरे।
सहभागीहरुलाई उक्त उल्कापिण्डको दैनिक जानकारी उपलब्ध गराइएको थियो जसलाई उक्त अभ्यासभरी १ महिनाको टाइमलाइन भनेर मानिएको थियो। उक्त काल्पनिक उल्कापिण्डको आकार ३५ मिटरदेखि ३०० मिटरसम्म भएको बताइएको थियो। प्रत्येक घण्टा बितेपछि वैज्ञानिकहरुले यसबारे जानकारी संकलन गर्ने गर्दथे।
अन्तत: दोस्रो दिन वैज्ञानिकहरुले ६ महिनाभित्र उल्कापिण्ड यूरोप र उत्तरी अमेरिका रहेको क्षेत्रमा खस्ने पत्ता लगाएका थिए। हप्ता दिन बितेपछि भने उनीहरुले यो जर्मनी र चेक रिपब्लिकका बीचमा खस्ने बताए।
ती वैज्ञानिकले पछि यस्तो ठूलो उल्कापिण्ड रोक्ने कुनै प्रविधि उपलब्ध नभएको निष्कर्ष निकालेका थिए। उनीहरुले यस्ता उल्कालाई अन्यत्र दिशा देखाउन छ महिनाभन्दा बढी समय लाग्ने पनि बताए।
ती वैज्ञानिकहरुले एउटा विज्ञप्ति निकालेर यदि यो काल्पनिक स्थिति वास्तविक जीवनमा आयो भने आफूहरुले यति छोटो समयमा र उपलब्ध संसाधनका हिसाबले यसको दिशा बदल्न कुनै पनि क्षेप्याष्त्र प्रक्षेपण गर्न नसक्ने पनि प्रस्ट पारेका छन्।
यसबाहेक उनीहरुले उल्कापिण्डको आकारबारे कुनै जानकारी नभएको खण्डमा पनि यसलाई रोक्नका लागि आणविक विष्फोटक प्रयोग गर्दा जोखिम कम हुने पनि बताए।
तर यदि उल्काको आकार ठूलो भएको र उक्त पिण्ड पृथ्वीको नजिकमा रहेको खण्डमा यसलाई पूर्णरुपमा परास्त गर्ने गरी हमला गर्न कुनै आणविक विष्फोटकको सामर्थ्य नपुग्ने पनि प्रस्ट पारेका छन्।
प्रकाशित: २ जेष्ठ २०७८, आईतवार