काठमाडौं ।
केही समययता क्रिप्टोकरेन्सी निकै चर्चामा रहेको छ। विभिन्न व्यापारी तथा अर्बपतिहरुले समर्थन गर्न थालेपछि बिटक्वाइन, इथेरियमजस्ता क्रिप्टवकरेन्सीको मूल्य ह्वात्तै बढेको छ भने यस क्षेत्रमा लगानी गर्नेको सङ्ख्या पनि निकै उकालो लागेको छ।
टेस्लाले बिटक्वाइन किनेर बिटक्वाइनमार्फत् नै भुक्तानी लिने निर्णय गर्यो भने पेपलले गत वर्ष क्रिप्टो व्यापार गर्दै यसमार्फत किनमेल गर्न सकिने सुविधा ल्यायो। यसैका कारण पनि क्रिप्टोकरेन्सीको मूल्यमा उल्लेख्य वृद्धि भयो।
तर विभिन्न देशका सरकारहरुले ब्लकचेन कम्पनीहरुमाथि छानबिन गर्ने तथा नियमहरु लगाउने प्रयास गरेका छन्। ब्लकचेन कुनै एक ठाउँमा केन्द्रित नहुने हुनाले यसलाई नियन्त्रणका लागि नियम लागू गर्न त्यति सजिलो भने छैन।
तर विश्वमा क्रिप्टोलाई लिएर केही नियम कानुनसम्बन्धी ठूला गतिविधि भएका छन् जस्तै
विश्वकै सबैभन्दा ठूलो क्रिप्टो सटहीका रुपमा चिनिएको बाइनान्सले गएको मार्चबाट सीएफटीसीको बाहेक अन्य दुई उजुरीहरु झेलिरहनु परेको छ। न्याय विभाग र आईआरएसले पनि क्रिप्टोकरेन्सीले ल्याउन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै बाइनान्सको अमेरिका-केन्द्रित कारोबारमाथि अनुगमन गरिरहेका छन्।
यस अनुसन्धानसँग निकट व्यक्तिहरुले समाचार संस्था ब्लूमबर्गलाई बताए अनुसार आधिकारिका निकायहरुले बाइनान्सको व्यवसायसँग सम्बन्धित जानकारीहरु संकलन गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण तथा कर छली यी उजुरीका मुख्य मुद्दा रहेका छन्।
ब्लूमबर्गका अनुसार न्याय विभागको बैंक नैतिकता एकाई र अमेरिकी महान्यायाधिवक्ताको कार्यालय, सियाटलका छानबिनकर्ताहरु यसमा संलग्न रहेका बताएको छ।अन्तरराष्ट्रिय कर सेवाले पनि अघिल्लो महिना बाइनान्सका कर्मचारी र ग्राहकको व्यवहारका बारेमा छानबिन गरेको थियो।
यता सीएफटीसीको छानबिन भने मुख्य गरी बाइनान्सले अमेरिकीलाई उपलब्ध गराएको हुन सक्ने अवैध व्यापारमा केन्द्रित हुनेछ। यसका लागि अब डिजिटल टोकनसँग सम्बन्धित डेरिभेटिभहरु अमेरीकी ग्राहकलाई उपलब्ध गराउनुअघि त्यस्ता कम्पनीहरु सीएफटीसीमा दर्ता हुनुपर्ने निर्णय गरेको छ।
प्रकाशित: २ जेष्ठ २०७८, आईतवार