
काठमाडौं ।
इन्स्टाग्रामले घृणायुक्त तथा नराम्रा डीएम रिक्वेस्टहलाई रोक्न अर्को नयाँ कदम चालेको छ।
कम्पनीले हालै आफ्नो ब्लगमा उक्त एपले कसरी डीएममा घृणायुक्त मेसेज पठाउन मात्र नभइ हेर्न पनि नमिल्ने बनाउँछ भन्ने व्याख्या गरेको छ।
इन्सटाग्रामले ब्याख्या गरे अनुसार सबैभन्दा घृणायुक्त र अवाञ्छित मेसेज डीएमबाटै आउने गरेको छ। यी मेसेजहरु अन्य यूजरहरुबाट आएका मेसेज हुन् जसलाई तपाईँले फलो पनि नगरेको वा योभन्दा पहे कहिल्यै मेसेज गरेका हुँदैनन्। कम्पनीले भेदभाव तथा गिज्याउने कार्यका विरोधमा काम गर्ने संस्थाहरुसँग मिलेर बनाएका कीवर्ड तथा ईमोजीहरु फिल्टर गर्न थाल्ने बताएको छ।
डीएम रिक्वेस्टमा यूजरले ब्याख्या गरेकाजस्ता ईमोजी तथा शब्दावलीहरु भएमा त्यसलाई फिल्टर गरिने कम्पनीको भनाइ छ।
यसको लागि प्राइभेसी सेटिङ्सभित्र रहेको ‘हिडन वर्डस’ मा अप्शन राखिएको छ। फिल्टर गरिएको डीएम रिक्वेस्ट अलग्गै हिडन रिक्वेस्टस् फोल्डरमा जानेछ भने तपाईँले ट्याप नगरुन्जेल त्यसमा लेखिएको टेक्स देखिँदैन।
त्यहाँबाट तपाईँले रिक्वेस्टलाई एक्सेप्ट, डिलिट वा रिपोर्ट गर्न सक्नुहुन्छ। इन्स्टाग्रामले ब्लक गरिएको यूजरलाई पुन: सम्पर्क गर्न अझ गाह्रो बनाएको छ। यदि तपाईँले कसैलाई ब्लक गर्नुभएको छ भने उक्त व्यक्तिले फेरि सम्पर्क गर्न नसकोस् भनेर उसले बनाएको नयाँ एकाउन्टसमेत ब्लक गर्ने अप्शन ल्याइएको छ।
यो नयाँ फिचर आगामी हप्ता विश्वका थुप्रै देशहरुमा शुरु हुने र त्यसपछिका केही महिनामा अरु देशहरु थपिँदै जाने कम्पनीले जनाएको छ। यस्तै नयाँ एकाउन्ट ब्लक गर्ने फिचर भने केही हप्ताभित्रै विश्वभरी नै उपलब्ध हुने बुझिएको छ।
प्रकाशित: ९ बैशाख २०७८, बिहीबार