मोबाइल फोन इम्पोर्टस एसोसिएसनले भन्यो- एमपिआइए होलोग्राम नटाँसिएका फोन चोरीका हुनसक्ने

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
मोबाइल फोन इम्पोर्टस एसोसिएसनले भन्यो- एमपिआइए होलोग्राम नटाँसिएका फोन चोरीका हुनसक्ने

काठमाडौं ।

मोबाइल फोन इम्पोर्टस एसोसिएसन (एमपिआइए)ले मोबाइल फोन खरिदकर्ताहरुलाई होलोग्राम अंकित फोनहरु मात्र किनबेच गर्न भनेको छ।

हालै एमपिआईएले एक सार्वजनिक सरोकारको विज्ञापन सन्देश सार्वजनिक गर्दै एमपिआईए होलोग्राम नभएका कम्पनीहरुको मोबाइल नक्कली हुनसक्ने चेतावनी दिएको छ भने त्यस्ता फोन बिक्री गर्नेहरुलाई पक्राउ समेत गरिने विज्ञापनमा देखाईएको छ।

पछिल्लो समयमा अबैधरुपमा आयातित फोनहरु नियन्त्रण गर्न भन्दै विभिन्न सरकारी निकायहरुमा लबिङ्ग गरिरहेको एमपिआईएले हालै सोहि किसिमको विज्ञापनमार्फत ग्राहकहरुलाई एमपिआईए होलोग्राम भएको फोन मात्र किन्न भनेको हो ।

सो विज्ञापनमा एमपिआइएको होलोग्राम स्टीकर भएको फोन मात्र किन्न र त्यस बाहेकका फोन किनबेच गरेमा प्रहरीले पक्राउ गर्ने संकेत समेत दिईएको छ।

https://twitter.com/XiaomiNepal/status/1382998250840416262

एमपिआईएका महासचिव अमित अग्रवालले अवैध फोनको कारोबार रोक्नका लागि जनचेतना बढाईरहेको र सोहीअनुसार विज्ञापन सार्वजनिक गरेको बताए ।

‘हामीले हाम्रा सदस्यहरुका साथै गैर सदस्यहरुलाई समेत एमपिआईए होलोग्राम उपलब्ध गराएका छौं र होलोग्राम भएका मोबाइल फोनहरु मात्र किन्न ग्राहकहरुलाई भनेका हौं,’ उनले भने ।

यसले बजारमा सिण्डिकेट नहुने दाबी गर्दै महासचिव अग्रवालले सरकारलाई नै सहयोग पुर्याउन अभियान शुरु गरिएको जिकिर गरे ।

‘नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस कहिले ल्याउने ठेगान छैन र सरकारले मात्र अवैध नियन्त्रण गर्न नसकेको हुँदा हामीले नै आफैँ अभियान शुरु गरेका हौं,’ महासचिव अग्रवालले  भने ।

अग्रवालकाअनुसार एमपिआइएमा हाल करिब १५ कम्पनीहरु सदस्य रहेको र ति कम्पनीहरुले नेपालको करिब ८० प्रतिशत मोबाइल ब्राण्डको प्रतिनिधित्व गर्ने जानकारी दिए ।

यस विज्ञापनको बारेमा थप जानकारी लिन उल्लेख गरिएको नम्बरमा जानकारी लिन खोज्दा भने सो फोन नम्बर नै उपलब्ध नभएको नेटवर्क सेवा प्रदायकले जानकारी दिन्छ।

एमपिआईएले आफ्नो होलोग्राम स्टीकरका लागि सदस्य कम्पनीहरुसँग रु.१ र गैर सदस्य कम्पनीहरुसँग रु.२ शुल्क लिने गरेको जानकारी दिएको छ।

बजारमा होलोग्राम स्टीकरसहितका फोनहरु यसअघि नै उपलब्ध भएपनि एमपिआईएले होलोग्राम स्टीकर नभएका फोन खरिद बिक्री नगर्न पहिलो पटक भनेको हो ।

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार