
काठमाडौं ।
ताइवानबाट हालै बाहिर आएका जानकारीहरुका अनुसार स्मार्टफोन कम्पनीहरु शाओमी र ओपोले आफ्नै फाइभजी चिपसेट निर्माणमा काम गरिरहेको बुझिएको छ।
योजना अनुसार काम भएको खण्डमा यी दुवै कम्पनीका फाइभजी मोडमसहितको चिपसेट यो वर्षको अन्त्यसम्ममा तयार भइसक्ने रिपोर्टमा जनाइएको छ। यस बाहेक शाङ्घाइमा रहेको यूनिसोक नामक एउटा चिपसेट कम्पनी पनि नेक्स्ट जेनेरेशन कनेक्टिभिटीसहितको एसओसी चिपको उत्पादनमा लागेको बताइएको छ।
ह्वावेमा प्रयोग हुँदै आएको किरिन चिपसेटको आपूर्तिमा कमी आएपछि शाओमी र ओपोले अब आफ्ना आपूर्तिको दायरा फराकिलो बनाउने सोच गरेर चिप निर्माणमा लागेको बुझिएको छ।
शाओमीले ल्याउँदै गरेको यो चिपसेट पहिलो भने होइन। सन् २०१७ मा शाओमीले २८ एनएम प्रोसेसमा सर्ज एस१ नामको चिप उत्पादन गरेर यसलाई शाओमी एमआई ५सी स्मार्टफोनमा प्रयोग गरेको थियो।
त्यसबेला देखि शाओमीले एमआई मिक्स फोल्डको क्यामराका लागि सर्ज सी१ नामको डेडिकेटेड आईएसपी मात्र ल्याएको थियो भने अन्य कुनै चिप बनाएको थिएन। अब फाइभजी चिप उत्पादनसँगै शाओमीले सामसङ, ह्वावे तथा एप्पलले झैं आफ्नै प्लेटफर्म डिजाइन गर्ने मार्गमा अगाडि बढ्न सक्ने संकेत गरेको छ।
प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार