
काठमाडौं ।
“ सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने” आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा आफ्नो निःशुल्क वाइफाइ सेवा यहि चैत ८ गतेबाट शुरू गरेको छ ।
नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ ।
निःशुल्क वाइफाइ सेवाको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरि सेवा शुभारम्भ भएको हो ।
सो उदघाटन समारोहमा बोल्दै वर्ल्डलिंकका कम्यूनिकेशन्सका अध्यक्ष अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प छैन् । गाँस बास कपाससंग आजको युगमा सूचना प्रविधि पनि जोडिएको छ, इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवन लाई परिवर्तन गर्न सक्छौ, सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्छ।’
उनले इन्टरनेटबाटै एक जना बिरामीको लागि आफनो डाक्टर साथीसंगको सल्लाहले बिरामीको उपचार फोक्सुण्डोमै गरेको अनुभव बताउदै, उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको तर सो कार्य लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्ने बताए ।
फोक्सुण्डो सम्म इन्टरनेट पुर्याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेको अध्यक्ष अग्रवालले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उपलव्ध प्रचुर सम्भावनाको प्रयोग गर्न नसिकिएको हुनाले सोको विश्व बजारमा पहिचान गराउन सके मात्र पनि यो प्रदेशको कयापलट हुने बताए ।
‘यस प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुरयाउने माध्यम सूचाना प्रविधि पनि एक हो । विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने तर नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वल्र्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथी भाईसंग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेछ,’ मुख्यमन्त्रीले भने ।
कर्णाली प्रदेशले कर्णाली पर्यटन बर्ष घोषणा गर्दा रारा तालमा प्रधानमन्त्रीबाट वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवा बाटै पर्यटन वर्षको उदघाटन भएकोमा आज सम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीले बताए ।
उदघाटन समारोहमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए ।
प्रकाशित: ११ चैत्र २०७७, बुधबार