दुर्गममा नेपाल टेलिकमको फोरजीले ल्यायो खुसी

  • Technology Khabar | १२ फाल्गुन २०७७, बुधबार
दुर्गममा नेपाल टेलिकमको फोरजीले ल्यायो खुसी
फाइल तस्बिर

काठमाडौं ।

सोलुखुम्बुका दुर्गम गाउँमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएपछि स्थानीयवासी खुसी भएका छन् ।

सोताङ गाउँपालिकाका बलुकुविर नाछिरिङले फोरजी सञ्चालन भएपछि इन्टरनेटको प्रयोगमा सहज भएको भन्दै खुसी व्यक्त गरे।

सोलुखुम्बुको सोताङमा निर्माण गरिएको फोरलेग टावरबाट सोलुखुम्बुकै दुर्गम मानिने दूधकोसीपारि पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेसँगै स्थानीयवासीको इन्टरनेट प्रयोग गर्ने चाहना पूरा भएको हो ।

विद्यालयमा इन्टरनेटको माध्यमबाट अब सजिलै विश्वका घटनाक्रम थाहा पाउन सकिने वाकुका जीवन राईको भनाइ छ । उक्त टावरबाट सोताङ, माप्यदूधकोसी गाउँपालिकाका अधिकांश क्षेत्र र थुलुङ दूधकोसी गाउँपालिकाका विभिन्न क्षेत्रमा सेवा पुगेको छ ।

त्यस्तै थुलुङ दूधकोसी गाउँपालिकाको कागेलडाँडामा निर्माण गरिएको टावरबाट पनि फोरजी सेवा सुरु भएपछि तल्लो क्षेत्रमा इन्टरनेटको प्रयोगमा सहज भएको छ ।

हालसम्म सोलुखुुम्बुको सदरमुकाम सल्लेरी, सोताङ, काँगेल र पत्तालेबाट फोरजी सेवा सञ्चालन गरेको र नेचासल्यानको थामडाँडाबाट पनि चाँडै फोरजी सेवा सञ्चालनमा ल्याउने नेपाल टेलिकम सोलुखुम्बु शाखा प्रमुख मोहम्मद अकबर अलिले जानकारी दिए । सोलुखुम्बुमा यीबाहेक वाकु, गुदेल, जुबुको बलङ्गामा पनि फोर लेग टावर निर्माण गरी सकेर सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिए।

यसअघि निजी कम्पनीले सञ्चालन गरेका सुस्त गतिका इन्टरनेटबाट स्थानीयवासीले मुक्ति पाएका छन् । आजको गोरखापत्रबाट

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार