
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट समुद्घाटन गरेका थिए । कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।
बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिईरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए।
कार्यक्रममा बैंकको ५६ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार–२०७७ तथा अनलाइन बैंकिङ्ग खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो ।
प्रकाशित: ११ माघ २०७७, आईतवार