कम्तीमा एक तरकारी बजारमा क्यूआर कोड’ भुक्तानी थाल्न आग्रह

  • Technology Khabar | १५ पुष २०७७, बुधबार
कम्तीमा एक तरकारी बजारमा क्यूआर कोड’ भुक्तानी थाल्न आग्रह
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थालाई मुख्यालय र शाखा कार्यालय आसपासमा रहेका कम्तीमा एक तरकारी बजारमा ‘क्यूआरकोड’ भुक्तानीको सुरुवात गर्न आग्रह गरेका छन् ।

नेपाल बैङ्कर्स एसोसिएसनको मङ्गलबार राजधानीमा आयोजित वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत साता मात्रै नक्सालको तरकारी बजारमा क्यूआरकोडमार्फत भुक्तानी गर्न सुरु गरेको भन्दै उनले भने, ‘तरकारीबाट सुरु गरेपछि यो अरूतिर पनि जानेछ भन्ने हाम्रो बुझाइ हो । यसमा बैङ्क वित्तीय संस्थाका सबै शाखालाई परिचालन गर्न आग्रह गर्छु ।’

मेसिन वा कार्डबाट हुने भुक्तानीका लागि विदेश पैसा जाने अवस्था रहने बताउँदै क्यूआरबाट भुक्तानी गर्दा पैसा बाहिर पनि नजाने उनले स्पष्ट पारे ।

भुक्तानीका लागि अन्तरबैङ्क आबद्धता बढाउन पनि निर्देशन दिँदै उनले सर्वसाधारणले प्रत्येक बैङ्कमा खाता खोल्ने कुरा व्यावहारिक नहुने भन्दै अन्तर आबद्धताले यस्ता भुक्तानीलाई सहजीकरण गर्ने बताए ।

मूल्यवृद्धि दर नियन्त्रणभित्र रहेको, चालू खाता र शोधनान्तर अवस्थामा बचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले विदेशी मुद्राको सञ्चिति पनि निकै राम्रो अवस्थामा रहेको बताए ।

नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भए पनि केही क्षेत्रबाहेक अधिकांश क्षेत्र हाल सञ्चालनमा आएकाले आशाको सञ्चार भएको बताए ।

साधारण सभाले एसोसिएसनको उपाध्यक्ष तथा कार्यकारिणी समितिका दुई जना सदस्यको निर्वाचनबाट उपाध्यक्षमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा कार्यकारिणी समितिमा नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे र माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको छ । गोरखापत्रबाट

प्रकाशित: १५ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार