
काठमाडौं ।
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको संस्था नेक्स्ट जेन र हल्ट प्राइजको संयुक्त आयोजनामा शनिवार ‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको फाइनल कार्यक्रम सम्पन्न हुने भएको छ।
लोकप्रियता कमाउन सफल भएको “उद्यमशीलता सम्बन्धी टक सिरिज” यही हल्ट प्राइज एट आईओई २०२०-२१ को पूर्व कार्यक्रमहरु भएको बताइएको छ । अर्थात् यो शनिबार हुन लागिरहेको यसको मुख्य र फाइनल कार्यक्रम हो ।
उक्त कार्यक्रमको फाइनलमा कलाकार मदनकृष्ण श्रेष्ठ, तेलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, गायकहरू स्वप्न सुमन र सुदिन पोखरेलको उपस्थिति हुनेछ ।
यस्तै हल्ट प्राइजको ग्राण्ड फाइनलमा निर्णायकको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, वुनसल्टिङ प्रमुख परिचालन अधिकारी तथा गूगलका पूर्व वरिष्ठ रणनीति र अपरेशन प्रबन्धक जेरी ली उपस्थित हुनेछन् ।
त्यस्तै उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, पुरस्कार जित्दै आएका वरिष्ठ डाक्टरका साथै युएनको दीगो विकास लक्ष्यहरूको अधिवक्ता डा. अला मुराबित, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिच्यूटका यसएम साइकत पनि कार्यक्रममा सहभागी हुनेछन् ।
उनीहरूले त्रिभुवन विश्वविद्यालयका १३ वटा इन्जिनियरिङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गर्नेछन् ।
यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल १२ लाख रुपैयाँ बराबर मूल्यका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्नेछन् ।
अन्तिममा पर्ने तीनवटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रीय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन्।
५० भन्दा बढी मुलुकमा क्षेत्रिय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रीय प्रतिस्पर्धापछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ। र, यही कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।
सोही दिनमा धेरै कला प्रस्तुति र मनोरन्जात्मक कार्यक्रमहरू पनि हुनेछ । कार्यक्रम शनिबार बिहान १० देखि साँझ ७ बजेसम्म चल्ने छ। कार्यक्रममा सहभागी हुन यस लिङ्कमा गएर दर्ता हुनुपर्ने छ ।
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार