
काठमाडौं ।
चीनको अन्तरिक्ष यान चांग ई–फाइभ मून मिशनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेर पठाएको हो ।
चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशन मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।
अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने काम सुरु गरेको छ । यसलाई रिटर्न मोड्युलसम्म पुर्याउने कार्यको सुरुवात बिहिबारदेखि गर्न सकिनेछ।
यो काम केही दिनसम्म मात्रै गर्न सकिनेछ र त्यसपछि नमूनालाई चन्द्रमाको कक्षमा पहिलेदेखि नै रहेको सर्विस भेहिकल र रिटर्न मोड्युलसम्म पुर्याइनेछ जसले यसलाई पृथ्वीमा फिर्ता पठाउनेछ।
योजनाका अनुसार रिर्टन मोड्युल मंगोलियाको भित्री इलाकामा सिजिवांगको घाँसे मैदानमा ल्याण्ड गर्न सक्नेछ ।
चांग ई–फाइभ मिशनअघि पनि चीनले थप दुई मून मिसन पठाएको थियो, सन् २०१३ मा चांग ई–थ्री र सन् २०१९ मा चांग ई–फोर मून मिशन । यी दुबैमा एक ल्याण्डरका साथै एउटा सानो मून रोभर समावेश गरिएको थियो ।
यी दुईको तुलनामा चांग ई–फाइभ जटिल मिशन हो ।
८.२ टनको चांग ई–फाइभलाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।
केही दिन अघि यो मिशन चन्द्रमामाथि पुग्यो र यसले आफूलाई चन्द्रमाको कक्षमा स्थापित गर्यो र चन्द्रमाको फन्को लगाउन थाल्यो । पछि यो दुई टुक्रामा बाँडियो – पहिलो सर्भिस भेहिकल र रिटर्न मोड्युल जुन चन्द्रमाको कक्षमा नै रोकिइरह्यो र दोस्रो मून ल्याण्डर जुन बिस्तारै चन्द्रमाको सतहतर्फ बढ्न थाल्यो ।
मून ल्याण्डर चन्द्रमाको सतहमा मोन्स रुमकेरमा उतारियो जुन चन्द्रमाको ज्वालामुखीयुक्त पहाड नजिकैको एक स्थान हो ।
चन्द्रमाको सतहबाट माटो र ढुङ्गा जम्मा गर्नका लागि पठाइएको चांग ई–फाइभ मून ल्याण्डरमा क्यामरा, राडार, एउटा ड्रिल र स्पेक्ट्रोमिटर फिट गरिएको छ । यी सबैको प्रयोग गरेर यसले चन्द्रमाको सतहबाट माटोको उत्कृष्ट नमूना जम्मा गर्नेछ।
चांग ई–फाइभभन्दा अघि ४४ वर्ष पहिले, हालसम्म मून मिशनको क्रममा अमेरिकी अपोलो अंतरिक्षयानबाट चन्द्रमामा गएका अंतरिक्षयात्री र सोभियत रुसको रोबोटिक लूना कार्यक्रमले चन्द्रमाको सतहभन्दा करिब ४ सय किलोमिटर भित्रसम्मको माटो र ढुङ्गा संकलन गरेका छन् तर ति मध्ये धेरै मिसनमा अंतरिक्षयात्री समावेश थिए ।
चन्द्रमाबाट ल्याइएका सबै नमूना करिब तीन अर्ब वर्ष पुराना हुन् ।
तर मोन्स रुमकेरबाट ल्याइएको नमूनाको उमेर १.२ देखि १.३ अर्ब वर्षको हुने अनुमान गरिएको छ । अर्थात् ती पहिला ल्याइएका नमूनाभन्दा नयाँ हुने अपेक्षा गरिएको छ । जानकारका अनुसार यसले चन्द्रमाको भूवैज्ञानिक इतिहासबारे थप जानकारी पाउन सकिनेछ ।
यी नमूनाहरूको सहयोगमा वैज्ञानिकहरूले सौर्यमण्डलको ग्रहहरूको उमेर मानिने ‘क्रोनोमिटर’ सहि तरिकाले तयार गर्न पनि सक्षम हुनेछन्। बीबीसी
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार