मोबाइल फोन तथा एसेसरिजका थोक बिक्रेता हुण्डी कारोबार अभियोगमा पक्राउ

  • Technology Khabar | १९ कार्तिक २०७७, बुधबार
मोबाइल फोन तथा एसेसरिजका थोक बिक्रेता हुण्डी कारोबार अभियोगमा पक्राउ
सांकेतिक

काठमाडौं ।

मोबाइल सेट तथा कभर लगायतका सामग्री खरिद बिक्रीका लागि एक करोड रुपियाँ ‘हुण्डी’ कारोबारको अभियोगमा प्रहरीले गएराति तीन जनालाई पक्राउ गरेको छ ।

हुण्डी कारोबारमा यति ठूलो रकम बरामद भएको पहिलो घटना हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख तथा प्रहरी नायब महानिरीक्षक सहकुल थापाले न्युरोड ओमबहालस्थित गोल्डेन लिफ होटलमा अवैध हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारेर महाबौद्ध क्षेत्रका तीन जना व्यापारीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा ओमबहाल तथा महाबौद्ध क्षेत्रमा मोबाइल तथा मोबाइलमा प्रयोग हुने विभिन्न सामग्रीका थोक बिक्रेता झापा दमक नगरपालिका–११ का ३१ वर्षीय विकास मित्तल, २७ वर्षीय कमल मित्तल र पर्वत कुस्मा नगरपालिका–१ का ३२ वर्षीय गणेश पौडेल छन् ।

उनीहरूको साथबाट ९९ लाख ८४ हजार रुपियाँ र नौ सय अमेरिकी डलर बरामद भएको छ ।

नेपालको प्रचलित कानुन अनुसार हुण्डी कारोबार अवैध हो भने प्रतिव्यक्ति नौ लाख ९९९ सय रुपियाँभन्दा बढी नगद राख्न र बोक्न पाइँदैन । बरामद रकमसहित तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको ब्यूरो प्रहरीले जनाएको छ । आजको गोरखापत्रबाट

प्रकाशित: १९ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार