नेपाल टेलिकमको सेवाहरुको जानकारी विभिन्न मातृभाषामा समेत उपलब्ध

  • Technology Khabar | ४ कार्तिक २०७७, मंगलवार
नेपाल टेलिकमको सेवाहरुको जानकारी विभिन्न मातृभाषामा समेत उपलब्ध
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।

यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् ।

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको जनाएको छ ।

प्रकाशित: ४ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार