
काठमाडौं ।
पाकिस्तानले भिडियो शेयरिङ्ग एप टिकटक माथि प्रतिबन्ध लगाएको छ ।
यसभन्दा पहिले भारतले टिकटकलाई प्रतिबन्धित गरेको थियो भने अमेरिकाले पनि टिकटकको अमेरिकी व्यवसाय बिक्री गर्न वा प्रतिबन्धित हुन चेतावनी दिएको थियो ।
पाकिस्तानको दूरसञ्चार प्राधिकरणले अनैतिक, अभद्र र अश्लील सामग्रीको ठूलो मात्रामा गुनासो प्राप्त गरिसकेपछि चिनियाँ एप टिकटकलाई चेतावनी दिएको थियो। तर टिकटकले ती चेतावनी र गुनासोहरुमा कुनै एक्सन नलिएको बताईएको छ।
दूरसञ्चार प्राधिकरण (पीटीए) ले भन्यो कि समाजका धेरै वर्गबाट प्राप्त गुनासोको आधारमा पीटीएले भिडियो साझेदारी एपलाई ब्लक गर्न आदेश जारी गरेको छ।
रिपोर्टका अनुसार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट, सोशल मिडिया र एप्सलाई अश्लील सामग्रीरहित बनाउन आग्रह गरेका थिए।
त्यसपछि पीटीएले पाँच डेटिङ्ग एप्समा प्रतिबन्ध लगाएको थियो जसलाई नग्नता र समलैगिकता फैलाएको आरोप लगाइएको थियो। हाल टिकटकमाथि समेत प्रतिबन्ध लगाईएको हो । एजेन्सी
प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार