राष्ट्र बैंकले तोक्यो वालेटहरुबाट राजस्व तिर्दाको अधिकतम सेवा शुल्क, पुस मसान्तसम्म लिन नपाईने

Technology Khabar २३ आश्विन २०७७, शुक्रबार

राष्ट्र बैंकले तोक्यो वालेटहरुबाट राजस्व तिर्दाको अधिकतम सेवा शुल्क, पुस मसान्तसम्म लिन नपाईने
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि राजस्व भुक्तानी गर्दा लिने अधिकतम सेवा शुल्क तोकेको छ ।

यसअघि कम्पनीहरुले आफैंले सेवा शुल्क तोकेर लिने गरेका थिए भने कम्पनी पिच्छे फरक सेवा शुल्क हुने गरेको थियो।

तर अब भने सरकारलाई बुझाउने राजश्वअनुसार न्यूनतम ५ देखि अधिकतम ३० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ।

राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) आबद्ध भएका भुक्तानी सेवा प्रदायकहरुले राष्ट्र बैंकले तोकेअनुसारको मात्र सेवा शुल्क लिन पाउने भएका हुन् ।

एक हजार रुपैयाँसम्मको कारोबार भएमा निःशुल्क सेवा दिनुपर्नेछ भने १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसैगरि राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्तसम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै कोरोना भाइरसको असहज परिस्थितीलाई दृष्टिगत गर्दै सेवा शुल्क नलिन निर्देशन दिएको हो ।

नयाँ निर्देशनसँगै वालेटहरुले आउँदो पुस मसान्तसम्म अब राजस्व तिर्दा सेवा शुल्क लिन पाउने छैनन्।

प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया