
काठमाडौं ।
सूचना प्रविधिमा महिलाले आयोजना गरेको कोभिड-१९ विषयमा आईसीटी टूल्स प्रयोग गरी सचेतना सामग्री निर्माण प्रतियोगिताको परिणाम साउन २५ गते वेबिनारको आयोजना गरी घोषणा गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ ले नेपाल पनि प्रभावित भइरहेको र यसबाट मुख्यतया गरीव महिला तथा पिछडिएका वर्गहरुको जीवन दिन प्रतिदिन कष्टकर भइरहेको तथा आमजनतामा सामाजिक, आर्थिक एवं मानसिक समस्याहरु बृद्धि भइरहेको वर्तमान परिस्थितिमा सबैैलाई समाजिक संजाल मार्फत सही र सकारात्मक सूचना प्रवाह गर्नका लागि युवाहरुको अगुवाइमा सन्देश तथा जानकारी प्रवाह गर्न सचेतना सामग्रीहरु तयार गर्न नेपालमै पहिलो यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रतियोगिताको मुख्य उद्देश्य कोरोना भाइरसबाट बच्न ६ फुटको दुरी राख्ने सम्बन्धी चेतनामूलक सामग्रीहरु तयार गरी सकारात्मक सोच तथा भावनाको विकास गर्दै कोरोनाबाट बच्न सबल बनाउने हो ।
यसका लागि २० वर्ष सम्मका किशोर किशोरीहरुलाई कोरोनाको कहरबाट बच्न अपनाउनुपर्ने विधि सम्बन्धी ४५ सेकेण्ड अथवा सोभन्दा कम समयको अडियो वा भिडियो सामग्री तयार गर्न यही असार महिनामा सामाजिक संजाल माध्यम मार्फत आह्वान गरिएको थियो ।
यस प्रतियोगितामा नेपाल भरीका ४० जना किशोर किशोरीहरु गूगल डक तथा फेसबुक प्रयोग गरी सहभागी भएका थिए र यसमा ६० प्रतिशत जति किशोरी र ४० प्रतिशत जति किशोरहरु थिए ।
प्रतियोगिताको शर्त पालना गरेका सबै अडियो भिडियो सामग्रीहरुलाई Women In Information Technology को फेसबुक पेजमा राखी लाइक्सको भोटिंग आह्वान गरिएको र सोको आधारमा वेबिनारमा विजयीहरु घोषणा गरिएको थियो ।
यस प्रतियोगितामा सहभागी भई पुरस्कृत हुनेहरुमा अडियोतर्फ आकास तामाङ प्रथम, निहोना प्रधान द्धितिय र कुशल गैरे तृतिय भएका छन् ।
यस्तैगरी भिडियोतर्फ इस्थी श्रेष्ठ प्रथम, विशेष कार्की द्धितिय र सुदिक्षा तुलाधर तृतिय भएका छन् । विजयीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।
यस सम्बन्धी आयोजित वेबिनार कार्यक्रममा सूचना प्रविधिमा महिला(Women In Information Technology)की अध्यक्ष गुणकेशरी प्रधानले कोभिड १९ को सम्बन्धमा प्रविधि प्रयोग गरी तयार गरिएको सिर्जनात्मक सचेतना सामग्रीले कोभिड-१९ फैलिन नदिन केही सहयोग पुग्ने अपेक्षा गरेको र साथै उनले कोभिड-१९ को कारण अरु देशको जस्तो नराम्रो स्थितिमा हाम्रो देश नपुगोस् भन्ने कामना सहित युवा प्रतियोगी मार्फत तयार गरिएका सचेतना सामग्रीहरु डब्लु आइआइटीको युट्युब र अन्य सामाजिक सञ्जाल मार्फत प्रचार गरी आमजनता समक्ष पुर्याइने बताईन् ।
वबिनार को थालिनी गर्दै संस्थाकी सचिव दिब्यश्वरी दलीले कोविड-१९ को कहरमा घर घर मा बसिरहेका बालबालिका हरु को प्रतिभा प्रस्तुति पनि होस् र समाज मा सचेतना गराउन को लागि राम्रो अडियो भिडियो जस्ता सामग्री संकलन पनि गर्न सकियोस् भन्ने उद्देश्य का साथ यो प्रतियोगिता संचालन गरेको जनाइन् ।
सो अवसरमा नेपाल टेलिकमका ब्यापार प्रबन्धक रिना डंगोलले अहिले लकडाउन खुल्यो भनेर मानिसहरुले कम सावधानी अपनाएको अवस्थामा यो सामाजिक दूरी शीर्षकमा गरिएको प्रतियोगिता निकै नै सान्दर्भिक भएको बताउँदै यसलाई नेपाल टेलिकमले सकारात्मक रुपमा लिएको बताईन् ।
कार्यक्रममा प्रतियोगीहरुले यस किसिमको प्रतियोगितामा सहभागी हुन पाउँदा विषय वस्तुको ज्ञान हुनुका साथै प्रविधि प्रयोग गरेर सिर्जनात्मक सामग्री तयार गर्न हौसला मिलेको बताए ।
यस प्रतियोगितामा टेक्निकल पार्टनर रही प्राइम् आइटी क्लव ले सहयोग पुर्याएको थियो ।
सूचना प्रविधिमा महिला सूचना तथा सञ्चार प्रविधिमा पेशागत अनुभव भएका तथा यस क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता लागि काम गरिरहेका महिलाहरुको जमात हो । सूचना प्रविधिमा महिलाले महिला तथा किशोरीहरुलाई यस क्षेत्र अपनाएर उलेनिय भूमिका खेल्न प्रोत्साहन गर्दै आएको जनाएको छ।
प्रकाशित: २९ श्रावण २०७७, बिहीबार