साइबर ब्यूरोको चेतावनी- आत्महत्या गरेको भिडियो शेयर नगर्नुस् नत्र कानूनी कारबाही गरिने

  • Technology Khabar | २७ असार २०७७, शनिबार
साइबर ब्यूरोको चेतावनी- आत्महत्या गरेको भिडियो शेयर नगर्नुस् नत्र कानूनी कारबाही गरिने

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेसँगै प्रहरीले यसबारेमा सबैसँग सतर्कता अपनाउन र सहयोग गर्न भनेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले यस किसिमका कार्यहरुप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता भिडियोहरु सामाजिक सञ्जालहरुमा शेयर गरेमा कानून बमोजिम कार्य दण्डनीय हुने भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

केहि समयअघि दुईजना युवतीहरुले फेसबुक लाइभमा आएर आत्महत्या गरेको र सो भिडियोहरु फेसबुक लगायतका सामाजिक संजालहरुमा शेयर गरिएको थियो । जसमा विभिन्न व्यक्तिहरुले शेयर गर्ने कमेन्ट गर्नेलगायतका कार्यहरु गरेका थिए ।

यस्ता घट्नाहरु थप हुन नदिनका लागि साइबर ब्यूरोले हालै सार्वजनिक रुपमा प्रेस विज्ञप्ति जारी गरेर त्यस किसिमको कार्य सार्वजनिक नैतिकता एवम् शिष्टाचार विरुद्ध हुने, समाजमा घृणा तथा द्वेष फैलाउनुका साथै मानसिक पिडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्न दुरुत्साहन पुर्‍याउने किसिमको हुने उल्लेख गरेको छ ।

ब्यूरोले त्यस्तो गतिबिधि हुन लागेको समयमा नै जानकारी पाएमा उद्धार गर्न र जिवन रक्षा गर्न सकिने भन्दै त्यसको लागि सामूहिक प्रयास आवश्यक हुने उल्लेख गरेको छ ।

‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवम् शिष्टाचार विरुद्ध हुने, समाजमा घृणा तथा द्वेष फैलाउनुका साथै मानसिक पिडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्न दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानून बमोजिम दण्डनिय भएकोले यस किसिमका कार्यहरु नगर्न नगराउनु हुन अनुरोध छ,’ ब्यूरोको विज्ञप्तिमा भनिएको छ ।

यसका साथै आत्महत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्न लागेको वा गर्दै गरेको घट्नाहरु बारेमा कुनै जानकारी वा सूचना भएमा तत्काल प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १००, नजिकैको प्रहरी कार्यालय वा ब्यूरोको टेलिफोन नम्बर ०१(४२१९०४४ तथा मोबाइल नम्बरहरु ९८५१२८६७७० र ९८५१२८६७७१ मा खबर गर्न भनेको छ ।

सो व्यक्तिको जिवन रक्षा गर्ने कार्यमा सहयोग र सहकार्य गर्न सबैसँग अनुरोध गरिएको छ ।

प्रकाशित: २७ असार २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार