Technology Khabar ३ असार २०७७, बुधबार
काठमाडौं ।
नेपालभित्र प्रसारण भईरहेका विदेशी टेलिभिजन च्यानलहरुले आगामी कात्तिक ८ गतेदेखि अनिवार्यरुपमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू गर्नुपर्ने भएको छ ।
सरकारले विदेशी च्यानलहरुले नेपालभित्र प्रसारण गर्दा विज्ञापनसहित प्रसारण गरिरहेको विषयलाई ध्यानमा राखेर आगामी कात्तिक ८ देखि क्लिन फिड लागू गराउने भएको हो ।
गत वर्ष नै आएको विज्ञापन (नियमन गर्ने) ऐनअन्तरगत आगामी आर्थिक वर्षको कात्तिक ८ गतेदेखि अनिवार्यरुपमा क्लिन फिड लागू हुने भएको छ ।
पटक पटक लागू हुन नसकेर स्थगित हुँदै आएको क्लिन फिड यो वर्ष भने ऐनअनुसार नै लागू हुने भएको हो । यसका साथमा अब नेपालका संचार माध्यमले पनि विदेशी डबिङ् गरिएका विज्ञापन प्रसारण गर्न नपाउने भएका छन् ।
सो बारेमा असार १ गते सूचना तथा प्रशारण विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै ऐनअनुसार नै प्रशारण गर्न गराउन भनेको छ।
सूचनामा उल्लेखित विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ।
त्यसैगरि विज्ञापन (नियमन गर्ने) ऐनको दफा ६ को उपदफा (२) मा उपदफा (१) मा लेखिएको छ- ‘जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले यस ऐन प्रारम्भ भएको १ वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’
त्यसैगरि सोहि दफाको उपदफा ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ्ग गरी प्रसारण गर्न पाइने छैन भन्ने उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् ।
*हेडलाइन सम्पादित

प्रकाशित: ३ असार २०७७, बुधबार