
काठमाडौं ।
करीव चार बर्ष पहिले सामसङको ग्यालेक्सी नोट ७ स्मार्टफोन ब्याट्री समस्याका कारण विस्फोट हुन थालेपछि कम्पनीले सो डिभाइसको उत्पादन नै बन्द गर्नुपर्यो।
अहिले फेरि सामसङकै ग्यालेक्सी ए सिरिजको फोनमा ब्लास्ट भएको मामला प्रकाशमा आएको छ र अमेरिकाको क्यालिफोर्नियाका प्रयोगकर्ताले भिडियो फुटेज पनि साझेदारी गरेका छन्।
सामसङको लोकप्रिय ग्यालेक्सी ए२०ई स्मार्टफोन पड्किएको दाबी गरिएको छ। प्रयोगकर्ताले फोन ब्याट्रीमा एक स्पार्क अर्थात झिल्का देखिएपछि आगो लागेको जानकारी दिएका छन् ।
हालै डेलीमेलले सार्वजनिक गरेको रिपोर्टअनुसार अमेरिकाको क्यालिफोर्नियाका प्रयोगकर्ता केन्जी यानासेको फोनमा आगो लागेको हो । उनले एक भिडियो पनि शेयर गरेका छन् । जून उनको स्मार्टफोन पड्किएर आगो लागेपछि खिचिएको हो ।
उनले कसरी ग्यालेक्सी ए२०ई स्मार्टफोनमा झिल्का निस्किएर आगो लाग्यो भनेर जानकारी समेत दिएका छन् । पड्किएको फोन हेर्दा सन् २०१७ को ग्यालेक्सी नोट ७ स्मार्टफोन ब्लास्ट भएजस्तै देखिन्छ ।
तर अहिलेसम्म यसको अनुसन्धान भईरहेको हुँदा के कारणले पड्कियो भन्ने उल्लेख छैन् ।
यानासेले फोन पड्किएको बेलामा उनको हातमा नै रहेको बताएका छन् । उनले आगो लागेको स्मार्टफोनमा पानी हाल्दा पनि ननिभेको बताउँदै त्यसलाई सुरक्षा जोखिमका कारण घरबाहिर लगेको बताए ।
यसबारेमा सामसङले जानकारी पाएकाे र ग्यालेक्सी ए सिरिजको गुणस्तर र प्रयोगकर्ताको सुरक्षामा विस्वास गर्ने बताएको छ । कम्पनीले डिभाइस फिर्ता लिएको र अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित: १९ जेष्ठ २०७७, सोमबार