
काठमाडौं ।
टेक कम्पनी गूगलले भारतको मोबाइल अपरेटर भोडाफोन आईडियामा लगानी गर्ने भएको छ ।
कम्पनीले भोडाफोन ग्रुपअन्तरगतको भारतीय कम्पनी भोडाफोन आईडियामा करिब ५ प्रतिशत लगानी गर्ने योजना अगाडी बढाएको हो ।
अहिले भोडाफोन आईडियाको बजार मूल्यांकन १६,७२४ करोड भारु रहेकोछ भने गूगलले यसबाटै करिब ५ प्रतिशत शेयर किन्न लागेको हो ।
गूगलले भोडाफोनको शेयर करिब ८३६ करोड भारुमा किन्ने योजना लिएको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख गरेकोछ ।
गूगलको मुख्य कम्पनी अल्फाबेट इंकले यसअघि रिलायन्स जियोमा लगानी गर्ने योजना गरेर कुराकानी गरिरहेको थियो तर त्यसलाई फेसबुकले लगेपछि कम्पनीले नयाँ मोबाइल अपरेटरमा लगानी गर्न खोजेको हो ।
फेसबुकले जियोमा करिब ९.९९ प्रतिशत शेयर किनेको थियो भने यसबाहेक अन्य ५ अमेरिकी कम्पनीहरुले समेत लगानी गरेका छन् ।
भोडाफोन आईडियामा हाल भोडाफोन प्रालि र आदित्य बिरला ग्रुपको क्रमशः ४४.३९ प्रतिशत र २७.१८ प्रतिशत शेयर हिस्सा रहेको छ ।
प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार