
काठमाडौं ।
एप्पल र गूगलले संयुक्तरुपमा तयार पारेको कन्ट्र्याक्ट ट्रेसिङ्ग टेक्नोलोजी सार्वजनिकरुपमा उपलब्ध भएको घोषणा गरेका छन् ।
कम्पनीहरुले विश्वका विभिन्न देशहरुका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराउन भनेर यसअघि एपिआई निर्माण गर्ने घोषणा गरेका थिए । जून अब प्रयोगको लागि उपलब्ध भएको छ ।
शुरुवातमा कन्ट्र्याक्ट ट्रेसिङ्ग टूलको रुपमा तयार पार्ने बताईएको थियो भने पछि यसलाई एक्सपोजर नोटिफिकेसन टेक्नोलोजी नामाकरण गरिएको थियो,जून यसले गर्ने प्रमुख कार्य हो । यो एपिआईले कोभिड-१९ संक्रमण भएको सुनिश्मित भएका मानिसहरुलाई अर्को मानिसलाई नजिक गएको खण्डमा सूचित गर्दछ ।
तर यसले प्रयोगकर्ताको बिबरणहरु र लोकेशन डाटालाई भने गोप्य राख्दछ ।
सार्बजनिक प्रयोगको लागि उपलब्ध हुनुको अर्थ यसलाई अब स्वास्थ्य संस्थाहरुले उनीहरुको एपमा यसलाई समावेश गरेर सर्वसाधारणलाई एप उपलब्ध गराउन सक्नेछन् ।
हाल उनीहरुले प्रारम्भिक चरणको भर्सन रिलिज गरेको बताएका छन् । अब कुनैपनि स्वास्थ्य एजेन्सीमा काम गरिरहेका डेभलपरहरुले ती संस्थाको लागि तयार पारेको एपलाई यसमा एकीकृत गरेर सार्वजनिक गर्न सक्नेछन् ।
‘यदि कुनै मानिस कोभिड-१९ परीक्षण गरेको थियो भने सो बारेमा जनस्वास्थ्यसम्बन्धित एपमा जानकारी दिने वा नदिने भन्ने उसैको हातमा हुनेछ,’ कम्पनीहरुले संयुक्त ब्लगमा भनेका छन् ।
यो एपिआई हाल पाँचै महादेशका अमेरिकासहित २२ देशहरुमा उपलब्ध रहेको छ भने आगामी दिनमा थप देशहरुमा बिस्तार गरिने बताईएको छ । यो प्रविधि आईओएस र एन्ड्रोयड दुबैमा उपलब्ध रहेको छ ।
प्रकाशित: ८ जेष्ठ २०७७, बिहीबार