नेपाल टेलिकमले तेस्रो त्रैमासिकमा ६७ करोड गुमायो, कार्डमा डिस्काउन्ट र लकडाउन प्रमुख कारण

  • Technology Khabar | ३० बैशाख २०७७, मंगलवार
नेपाल टेलिकमले तेस्रो त्रैमासिकमा ६७ करोड गुमायो, कार्डमा डिस्काउन्ट र लकडाउन प्रमुख कारण

काठमाडौं ।

नेपाल टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आम्दानीमा करिब ६७ करोड रुपैयाँ कमी आएको छ।

कम्पनीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिक माघदेखि चैत महिनासम्मको वित्तीय बिबरणअनुसार करिब ६६ करोड ८४ लाख २९ हजार रुपैयाँले आम्दानी घटेको हो ।

कम्पनीले आफ्नो आम्दानी घट्नुमा रिचार्ज कार्डमा डिस्काउन्ट दिनु, लकडाउनले गर्दा सेवा प्रभावित हुनु र शत प्रतिशत बोनस दिनु कारण रहेको दाबी गरेको छ ।

गत आवको तेस्रो त्रैमासिकसम्मको कूल सेवा वापतको आय २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १७९ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्मको कूल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २७२ रुपैयाँ मात्र रहेको छ ।

कम्पनीको आम्दानीलाई सबैभन्दा बढि रिचार्ज कार्डको बिक्रीमा दिईएको डिस्काउन्टले गर्दा असर पारेको देखिएको छ । यस्तो रकम वार्षिकरुपमा ८५ करोड रुपैयाँ भन्दा अधिक रहेको छ ।

वि. सं. २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको जानकारी दिएको छ । कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा बापतको आय घटेको बताएको छ ।

चालु आ.व. को तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार २७३ रुपैयाँ रहेको टेलिकमले उल्लेख गरेको छ । तसर्थ गत वर्षको आम्दानीसँग तुलना गर्दा यो रकम पनि हिसाब गर्नुपर्ने कम्पनीको भनाई छ ।

यसरी चालु आवको तेस्रो त्रैमासिकसम्मको कूल आयमा माथि उल्लेखित डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोड रुपैयाँले बढी हुने टेलिकमले जानकारी दिएको छ ।

त्यसका अतिरिक्त टेलिकमले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको बताएको छ ।

लकडाउनको अवधिमा चैत २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १०० प्रतिशत बोनस रकम कूल रु. ५३ करोड ४० लाख रुपैयाँ बराबरको भएको र सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई रू. ५ करोड ३० लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरिएको स्पष्ट पारेको छ ।

त्यसैगरि मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको र यस्तो रकम ८ करोड २० लाख रुपैयाँ बराबरको हुने दाबी गरेको छ ।

टेलिकमकाअनुसार यसरी लकडाउनको कारण कम्पनीको आयमा कूल ६६ करोड ९० लाख रुपैयाँ बराबरको नकारात्मक असर परेको र यस बाहेक कम्पनीले कोरोना राहत कोषमा रू. १० करोड योगदान गर्दा थप आम्दानीमा कमी आएको बताएको छ ।

माथि उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसंगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको छ टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित: ३० बैशाख २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार