
काठमाडौं ।
विश्व स्मार्टफोन बजारमा बिक्रिदर १४ प्रतिशतले गएको फरबरीमा घटेको छ । चीनमा देखिएको कोरोनाभाइरसको महामारी र अहिले विश्वभर फैलिएपछि स्मार्टफोन बिक्रीमा १४ प्रतिशतको कमी देखिएको अनुसन्धान संस्था काउन्टरपोइन्ट रिसर्चले बिहिबार बताएको छ ।
कोरोनाको प्रकोपसँगै चीनमा एप्पल इंकसहित अन्य स्मार्टफोन उत्पादकहरुले सबै आफ्ना स्टोरहरु फरबरीमा बन्द गरेका थिए । सरकारी तथ्यांक हेर्दा एप्पलले सो महिनामा सँधैको महिनाभन्दा करिब ५ लाख कम स्मार्टफोनहरु बिक्री गरेको थियो ।
चीनमा फरवरीमा अघिल्लो वर्षको सोहि महिनाको तुलनामा ३८ प्रतिशतको बिक्री घटेको देखिएको छ भने मार्चको मध्यदेखि खुल्न थालेका स्टोरहरुले त्यसमा सुधार हुने अपेक्षा गरिएको छ ।
त्यसैगरि दक्षिण कोरियामा पनि बिक्रीमा पुन सुधार हुँदै गएको देखिएपनि अझै विश्वभर यो भन्दा पनि खराब हुने अपेक्षा गरिएको काउन्टरपोइन्टले उल्लेख गरेको छ ।
विश्वभर अधिकांश मुलुकहरुले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि लकडाउन गरेसँगै स्मार्टफोन उत्पादकहरुले पछिल्लो दिनमा आपूर्ति श्रृंखलामा समस्या भोगिरहेका छन् । रोयटर्स
प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार