
काठमाडौं ।
नेपाल टेलिकमले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि चैत ११ देखि १८ गतेसम्म देशभर पूर्ण लकडाउन गरेको अवस्थामा आफ्ना ग्राहकहरुलाई लकडाउन अवधिभर महशुल तिर्न ढिलाई भएपनि कुनै जरिवाना नलगाउने घोषणा गरेको छ ।
सरकारी दूरसंचार सेवा प्रदायक टेलिकमले यसका साथै वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन र यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने जानकारी दिएको छ ।
सो अवधिमा कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने निर्णय गरेको कम्पनीका प्रवक्ता राजेश जोशीद्धारा जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रकाशित: ११ चैत्र २०७६, मंगलवार