एप्पलको चीनमा रहेका आधिकारीक स्टोरहरु सबै खुले, फरवरीको बिक्री भने ६० प्रतिशतले घट्यो

  • Technology Khabar | ३० फाल्गुन २०७६, शुक्रबार
एप्पलको चीनमा रहेका आधिकारीक स्टोरहरु सबै खुले, फरवरीको बिक्री भने ६० प्रतिशतले घट्यो

काठमाडौं ।

टेक कम्पनी एप्पलले चीनमा रहेका आफ्ना सबै स्टोरहरु शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएसँगै बन्द गरिएका चीनका सबै रिटेल स्टोरहरु शुक्रबार मध्यान्हदेखि पुनः सञ्चालनमा ल्याएको हो ।

आइफोन निर्माता एप्पलको चिनियाँ वेबसाइटले जनजीवन सामान्य बन्दै गएको हुँदा चीनका बिभिन्न सहरमा रहेका आफ्ना आउटलेटहरू पुनः सञ्चालनमा ल्याइएको जनाएको छ।

कम्पनीले गत फरबरी पहिलो सातादेखि कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर आधिकारीक आउटलेटहरू बन्द गरेको थियो। त्यसबेला कम्पनीले एक सातामै स्टोरहरु खोल्ने योजनासाथ बन्द गरेको भएपनि भाइरस नियन्त्रण बाहिर जाँदा एप्पलका स्टोरहरु बन्द नै रहेका थिए ।

हाल कम्पनीले चीनमा रहेका ४२ मध्ये ३८ वटा स्टोरहरु खुला गरेको छ । बाँकी पनि मार्चभित्रै संचालनमा ल्याउने योजना राखेको छ। अमेरिकापछि एप्पलको सबैभन्दा धेरै आउटलेटहरु चीनमा छन। खुल्न बाँकी ४ स्टोरहरुमध्ये ३ वटा तियानजिनमा छन भने एउटा सोयझुमा रहेको छ ।

संसारका २५ देशमा आफ्नै आउटलेट राखेको एप्पलका अमेरिकामा २७१, चीनमा ४२, बेलायतमा ३८, क्यानडामा २९ र अष्ट्रेलियामा २२ आउटलेट छन्।

आफ्ना आधिकारिक आउटलेटहरु बाहेक पनि एप्पलले रीसेलरमार्फत आइफोन, आइप्याड र म्याकबुक र म्याक कम्प्युटर बिक्री गर्दै आएको छ।

चिनियाँ नयाँ वर्ष शुरुभएलगत्तै कोभिड-१९ को संक्रमण देखिएपछि गत जनवरीमा चीन सरकारले सर्वसाधारणलाई सार्वजनिक स्थानमा निस्कन बन्देज गरेको थियो भने बिभिन्न प्रान्तमा सतर्कता अपनाइएको थियो।जसअवधिमा एप्पलले पनि आफ्ना कर्मचारीहरुलाई घरमा नै बस्न र यात्रा नगर्न भनेको थियो भने स्टोरहरु समेत बन्द गरेको थियो ।

एप्पलले फरबरीको अवधिमा चीनमा निकै कम संख्यामा मात्र स्मार्टफोन बिक्री गरेको छ । सो अवधिमा एप्पलले ५ लाख भन्दा कम डिभाइसहरु मात्र बेचेको थियो जून सन् २०१९ फरवरीको तुलनामा ६० प्रतिशतले कम हो ।

अर्को तर्फ कम्पनीले अमेरिका क्यानाडा र मेक्सिकोका आफ्ना स्टोरहरुमा भने कुनैपनि गतिबिधी गर्न रोक लगाएको छ । कम्पनीले स्टोरहरुमा नै बिक्री प्रबर्द्धन गर्ने इभेन्टहरु एप्पल सेसन नाममा नियमितरुपमा आयोजना गर्ने गर्दछ तर हाल सो कार्यमा रोक लगाईएको छ भने कर्मचारीहरुलाई पनि सतर्कता अपनाउन भनेको छ । यी ३ देशका स्टोरहरु बन्द भएका छैनन् । तर इटालीमा भने सबै स्टोर बन्द नै रहेका छन् ।

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३० फाल्गुन २०७६, शुक्रबार